
आइतवार , माघ १, २०७९
भैरहवा, १ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–९ निवासी ममता मल्लाहालाई रु. २१ हजार हस्तान्तरण गरेको हो । बिरामीलाई उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्लबका अध्यक्ष चन्द्र बहादुर थापाले बताए । उनले भने, ‘पीडित महिलाको श्रीमान्ले पनि करेन्ट लागेर एउटा खुट्टा गुमाएका छन्, यस्तो अवस्थामा केही पनि सहयोग पुग्छ भन्ने उद्देश्यले रकम प्रदान गरेका हौं, अन्य संघ–संस्थाले पनि सहयोग गर्न आवश्यक छ ।’
लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४४ औं जन्मोत्सवको अवसर पारेर ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स सिद्धार्थनगरका प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गभर्नर नवराज न्यौपानेले मेल्भिन जोन्स सर्भिस वीकमा लायन्स क्लबहरुले महत्वपूर्ण कार्यहरु गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘मेल्भिन जोन्सको १४४ औं जन्मोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी भएका छौं ।’ उनले नेपालमा लायन्स क्लबमा ४६ हजार बढी सदस्यहरु आबद्ध भएको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले लायन्स क्लबले मुलुकभरी सरकारले गर्नुपर्ने काम गरेको बताए । उनले लायन्स क्लबहरु धन्यवादको पात्र भएको बताए । उनले तिलोत्तमा नगरपालिका लायन्स क्लबसँग शिक्षा, स्वास्थ्य, गरीबी निवारण लगायतका क्षेत्रमा सहकार्य गरेर काम गर्न इच्छुक भएको बताए । उनले भने, ‘भौतिक पूर्वाधार र मानवीय विकास एउटै सिक्काका दुईटा पाटा हुन् ।’ नगरप्रमुख खाणले तिलोत्तमाको रुपान्तरण, विकास र समृद्धिको लागिपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नगरपालिकाले गर्ने कार्यक्रमहरु सफल पार्न संघ–संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले लायन्स क्लब लगायत विभिन्न संघ–संस्थासँग नगरपालिकाले सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका कोषाध्यक्ष विनोद खरेल, डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, एरिया–५ का चिफ संगम न्यौपाने लगायतले बोल्दै लायन्सले समाज कल्याणका लागि काम गर्दै आएको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक रवि कुमार श्रेष्ठको स्वागत, लायन्स सिद्धार्थनगरका तृतीय उपाध्यक्ष धर्मराज आचार्यको ध्वजा अभिवादन तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न लायन्स क्लबहरुलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij