२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

‘सहज रुपमा कर तिर्ने वातावरण सिर्जना गर्नुपर्छ’

बुधवार , पौष २७, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २७ पुस ।
    आन्तरिक राजस्व कार्यालय भैरहवा, चेम्बर अफ कमर्स, (उद्योग व्यापार संगठन, रुपन्देही) र मदिरा व्यवसायी संघ, भैरहवाको संयुक्त आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ । 

    सिद्धार्थनगर–९, उदयपुरस्थित उद्योग व्यापार संगठनको सभाहलमा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत सागर पोखरेलले आर्थिक विधेयक २०७९ ले गरेका परिवर्तन तथा करदातालाई प्रदान गरेका छुट तथा सहुलियतबारे प्रस्तुतीकरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले आफ्नो व्यवसायको बारेमा आफैलाई जानकारी हुनु आवश्यक रहेको बताए । उनले आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको बताए । उनले भने, ‘कारोबारको सही घोषणा गर्नुहोस्, बीलबिजक जारी गर्नुहोस् । ’उनले उद्योग, डिलर, वितरकबाहेक अनाधिकृत रुपमा मदिरा खरिद गर्न नहुने बताए । प्रमुख कर अधिकृत निरौलाले पछिल्लो समय व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) को दुरुपयोग भएको पाइएकोले त्यसो नगर्न आग्रह गरे ।

    त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले अस्पष्टता र झन्झटिलो प्रक्रिया हटाइ सहज रुपमा कर लिने व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘करबाट हामी कोही भाग्नु हुँदैन र कर प्रशासकले पनि सहज रुपमा कर लिने व्यवस्था गर्नुपर्छ । ’ अध्यक्ष ज्ञवालीले मुलुकको समृद्धि र विकासका लागि कानूनबमोजिम राज्यलाई कर तिर्नु हरेक व्यक्तिको दायित्व भएको बताए । करको दर भन्दा दायरा बढाएर सम्पूर्ण व्यक्तिलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । उनले करदाता शिक्षाले करदातामा भएका डर, त्रास हटाएर कर तिर्ने वातावरणको सिर्जना गर्ने उल्लेख गरे ।

    संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आन्तरिक राजस्व कार्यालयबाट प्रदान गरिने सेवामा पनि सुधार हुँदै आएको बताए । उनले आन्तरिक राजस्व कार्यालयले करदातालाई अझ सहज रुपमा कर तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पारदर्शी रुपमा कर तिर्नु हाम्रो दायित्व हो । ’भण्डारीले आर्थिक मन्दीका कारण निजी क्षेत्रमा मारमा पुगेको बताए । उनले धेरै उद्योग व्यवसाय बन्द भएकाले पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको बताए । उनले भने, ‘बढ्दो बैंक ब्याजदरले मासिक किस्ता समेत तिर्न सक्ने अवस्था छैन । ’

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको स्वागत, कार्यक्रम संयोजक केशवराज अर्यालको धन्यवाद ज्ञापन तथा उद्योग व्यापार संगठन, रुपन्देहीका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।