
बुधवार , श्रावण १४, २०७७
परासी, १४ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नवलपरासीले एक वर्षको अवधिमा करिब अढाई करोड मुल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा भइरहेको चोरी तस्करीका २ करोड ४६ लाख मुल्य बराबरको विभिन्न सामान बरामद गरी महेशपुर भन्सार कार्यालयलाई बुझाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरले गणबाट खटाइने प्रहरी गस्ती र आफनो मातहतका विओपीहरुको सहयोगबाट जिल्लाकोे विभिन्न नाकाहरुबाट त्यत्रो मुल्यको सामान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सारलाई बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए । उनले भने, यो राजस्व मेरो एक वर्षे कार्यकालको हो ।
स्थानीय तस्करहरुले भन्सार छलेर अवैध रुपमा निकासी पैठारी गरेको लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, मटर, छोहडा, हाडवेयर/ईलेक्ट्रोनिक्स, खसीबोका लगायतका सामाग्रीहरु शसस्त्र प्रहरीले बरामद गरी भन्सारलाई बुझाएको छ ।
त्यस्तै जनपद प्रहरी र भन्सारले स्वय) आफै पनि विभिन्न तस्करीका सामान बरामद गरी राजस्व दाखिला पनि गरेको एसपी खनियाले बताए ।
नवलपरासी खुल्ला सिमाना भएको जिल्ला भएकाले तस्करी नियन्त्रण गर्न कठिनाइ भएपनि तस्करी न्युनीकरणतर्फ सुरक्षाकर्मीहरुले राम्रो नतिजा ल्याएका छन् । सीमा सुरक्षा, सिमामा हुने अपराधिक गतिविधि र चोरी तस्करी न्युनीकरणका लागि सशस्त्र प्रहरी नेपाल प्रहरीसंगको समन्वय सहकार्यमा काम गरिरहेको र चोरी तस्करी न्युनीकरणमा सीमामा कडा निगरानी बढाएको सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए ।
त्यस्तै मंगलबार सशस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसहियाबाट ९८ हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारत भित्राउने क्रममा गस्तीमा खटिएको प्रहरी टोलीले उक्त मटर बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जनाएको छ ।
यता तस्करी रोक्न जनपद प्रहरी र महेशपुर भन्सार पनि सक्रियता देखाएको छ । तस्करी न्युनीकरण गर्न सुरक्षाकर्मीहरु सादा पोशाकमा खटी अवैध रुपमा भइरहेको निकासी पैठारीका सामानहरु धमाधम बरामद गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij