
बिहिवार , पौष २१, २०७९
बुटवल, २१ पुस ।
एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।
संस्थाले शेयर सदस्य रामप्रसाद सुवेदीको मृत्यु भएकोमा निजको परिवार देवी सुवेदीलाई कल्याणकारी कोष र बीमा बापत एकलाख रुपैयाँ राहत स्वरुप मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले विगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख रकम अनुदान दिंदै आएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताए ।
त्यसअवसरमा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, स्थानीय टोल विकास संस्थाका अध्यक्ष बाबुराम रेग्मी लगायतले बोल्दै रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा रक्तदान गरेकाहरुलाई सहकारीको लोगो अंकित टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसअवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाका गतिविधि र आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै हालसम्म संस्थाको कुल वासलात करिब ६८ करोड पुगेको जानकारी गराए । उनले हालसम्म बचत संकलन ५२ करोड १३ लाख २९ हजार रहेको, पाँचसय जना सदस्यलाई करिव ६१ करोड ऋण लगानी गरिएको, आर्थिक वर्ष ०७८÷७९ को नाफाबाट १३.५ प्रतिशत बोनस प्रदान गरिएको बताए । संस्थाले अनलाईन प्रणालीमार्फत संस्थाको कारोबार सुरु गरिसकेको पनि उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij