
बुधवार , पौष २०, २०७९
बुटवल, २० पुस ।
मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैंकले स्थापनाको १७ औं वर्ष प्रवेशको अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रको आयोजना गरी स्थापना दिवस मनाउने भएको हो ।
‘जनता बैंकमा होइन, बैंक जनताको माझमा’ जानुपर्दछ भन्दै स्थापना भएको बैंकले स्थापना दिवसको अवसरमा एकैसाथ १३ वटा नयाँ शाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरहरुको उद्घाटन गरेको छ । डिजिटल माध्यमद्वारा केन्द्रीय कार्यालयमार्फत देशभरका विभिन्न १३ स्थानमा शाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरको उद्घाटन गरिएको बैंकले जनाएको छ ।
बैंकको शाखा कार्यालको उद्घाटन गर्दै बैकका अध्यक्ष भरतराज ढकालले निरन्तर रुपमा स्थापनादेखि हालसम्म पनि मुक्तिनाथ विकास बैंकलाई साथ दिने सम्पूर्ण शेयरधनी, ग्राहक वर्ग, कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । उनले सबैको साथ र सहयोगकै कारण स्थापनाको छोटो अवधिमा विकास बैंकतर्फ देशकै अग्रणी बैकको रुपमा मु्क्तिनाथ विकास बैंक स्थापित हुन सफल भएको भन्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने बताए । उनले विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी आगामी दिनमा पनि कायम राख्दै अगाडी बढ्ने बताए । उनले पछिल्लो समय बजारमा देखिएका मुद्रा स्फिती, बैंकिङ्ग तरलता लगायतका वर्तमान चुनौतीलाई चिर्दै बैंक आगमी दिनमा पनि देशकै अग्रणी विकास बैंकको रुपमा अगाडी बढ्ने उल्लेख गरे ।
समुदायमा बैकिङ्ग साक्षरतासँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड दिदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना दिवसको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजनासँगै विभिन्न सामाजिक उत्तरदायित्व, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए ।
मुक्तिनाथ विकास बंैकले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ । यस्तै विभिन्न विद्यालयहरुमार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, वृद्धवृद्धा, अनाथ तथा असहाय बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रीन प्रोजेक्ट’ सम्बन्धी सामग्री हस्तान्तरण र न्यानो कपडा वितरण जस्ता विभिन्न कार्यक्रमहरु गरेको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij