
मंगलवार , पौष १९, २०७९
भैरहवा, १९ पुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बाल मृत्युदर एवं मातृ मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम लागू गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन् । यसले दिगो विकासका लक्ष्यहरुलाई पनि गाउँपालिकामा लागू हुन सहयोग पुर्याउने अपेक्षा रहेको चौधरीले बताइन् ।
कार्यक्रमअन्र्तगत पालिकाले चारपटक सुत्केरी जाँच गरेको गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण सुरु गरेको छ । ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीकाअनुसार यसरी उपलब्ध गराइने पौष्टिक आहारमा स्वादिलो हलुवा, मिठो दलिया र विशेष प्रकारको खिर वितरण सुरु गरिएको छ ।
साउन यता सुत्केरी भएकी ४५ दिने महिला तथा स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराइरहेकी गर्भवती महिलालाई उपाध्यक्ष सुनिता चौधरी आफै घरदैलोमा पुगेर शुभकामनासँगै पोषण सामग्री वितरण गर्ने गरेकी छन् । यसले महिलाहरुमा स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको उनको भनाइ छ । ‘हाम्रो लक्ष्य महिलाहरुले स्वास्थ्य संस्थालाई अधिकतम प्रयोग गरुन भन्ने हो, चौधरीले भनिन, ‘घरदैलोमा शुभकामनासँगै गर्भ अवस्थामा हुने जटिलताको बारेमा पनि जानकारी दिने गरेकी छु ।’
स्वास्थ्यकर्मीसँगै सम्बन्धित महिलाको घरघरमै पुगेर १ हजार ५० रुपैयाँ बराबरको पौष्टिक आहार वितरण गर्ने गरिएको छ । गाउँपालिकामा सरदर वार्षिक ६ सय ६७ शिशुहरु जन्मिने गरेको तथ्यांक रहेको छ । यस वर्ष पालिकाले ५ सय ७८ जनालाई पुग्ने गरी बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनुं) ले बताए । उनले यो बजेट अपुग भए आवश्यकता अनुसार थप रकम यसैको लागि छुट्टयाउन सकिने बताए ।
यससँगै ओमसतियामै रहेको प्रसुति केन्द्रमा शिशु जन्म दिने महिलालाई १ हजार ५ सय बराबरको पोषण झोला पनि वितरण गरिदै आएको ज्ञवालीले जानकारी दिए । झोलामा सुत्केरीलाई आवश्यक पर्ने अण्डा, घ्यू, काजु, किसमिस, बदाम, नरिवल, ज्वानो र भेली जस्ता सामग्री हुने गरेका छन् । ओमसतियामा बसन्तपुर स्वास्थ्य संस्था छोटकी रामनगर स्वास्थ्य संस्थामा गरी २ वटा प्रसुति केन्द्र रहेका छन् । गाउँपालिकामा यी प्रसुति केन्द्रमा जाने गर्भवती महिलाहरुलाई लक्षित गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि रहेको स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij