२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओमसतिया गाउँपालिकामा सार्वजनिक सुनुवाई

मंगलवार , पौष ७, २०७७

भैरहवा, ७ पुस ।  
रुपन्देहीको ओमसतिया गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधा विषयक प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई भएको हो ।

ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजना तथा बास, रुपन्देही शाखाको सहजीकरणमा भएको कार्यक्रममा बोल्ने गाउँपालिकावासीहरुले विभिन्न गुनासो र सुझाव राखेका थिए ।

स्थानीय भानु पौडेलले गाउँपालिकामा सार्वजनिक सुनुवाई आयोजना गरिए पनि सूचना नपाएकोले आगामी दिनमा कार्यक्रम हुनु अगावै सूचना दिन आग्रह गरे । उनले दिगो विकासलाई गाउँपालिकाले प्राथमिकतामा राख्न सुझाव दिए ।

ओमसतिया–३ का दिल बहादुर चौधरीले सार्वजनिक सुनुवाईमा सम्पूर्ण पार्टीका प्रतिनिधिहरुको सहभागिता नभएको गुनासो गरे । उनले सडक पिच गरेर मात्र विकास नहुने भएकोले समग्र क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे । पिच सडकको नाममा सांघुरो सडक बनाउनु हुँदैन, बेरोजगार युवालाई रोजगारी दिनुपर्छ, उनले भने । वृद्ध भत्ता बैंकमा लिन जाँदा वृद्धवृद्धाले सास्ती भोग्नुपरेको उनको भनाइ थियो । स्थानीय पवन कुमार धवलले गाउँपालिकामा जान कर्मचारी हिंडने मुख्य सडक पिच भएको तर गाउँपालिकाका भित्री सडकहरु नबनेको गुनासो गरे ।

कृषक अगुवा देव धवलले राष्ट्रिय कृषक दिवस घोषणा गर्न स्थानीय सरकारले सिफारिस र पहल गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रलाई कागजमा मात्र प्राथमिकता दिइएको तर व्यवहारमा त्यसो नभएको गुनासो गरे । उनले अघिल्लो सार्वजनिक सुनुवाईमा गुनासो र सुझाव आएका विषयहरुको सम्बोधन नभएको समेत बताए ।

स्थानीय झबिलाल दर्लामीले बजेटको सही सदुपयोग हुनुपर्ने बताए । उनले बजेट विनियोजन गर्दा नागरिकसंग छलफल गर्नुपर्ने बताए । स्थानीय मायादेवी थारुले विभिन्न बहानामा नागरिकको काम समयमै हुन नसकेकोले यसतर्फ गाउँपालिकाको ध्यान जानुपर्ने बताए । सनोज कुमार चाईले आवश्यक ठाउँमा बजेट विनियोजन हुनुपर्ने माग गरे । उनले शिक्षा क्षेत्रमा जोड दिनुपर्ने बताए ।

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासा तथा प्रश्नहरुको गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, विभिन्न विषयगत शाखाका प्रमुखहरु लगायतले जवाफ दिएका थिए । बास रुपन्देहीकी निर्देशक विजया खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।