बुधवार , पौष १३, २०७९
बुटवल, १३ पुस ।
पुस ७ गतेदेखि बुटवल मण्डपमा चलिरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको छ ।
स्वदेशी उत्पादनहरूलाई निकै प्राथमिकताका साथ राखिएको मेलामा रुपन्देहीकै तिलोत्तमा नगरपालिका–१ ड्राइभर टोल, न्यु होराइजन कलेज नजिकै रहेको अन्जु सेनेटरी प्याड उद्योगबाट उत्पादित सामग्रीहरूले ध्यान खिचेको हो ।
उद्योगबाट पुनः प्रयोग गर्न सकिने खालको आधुनिक एवं वातावरणमैत्री कपडाबाट बनेको सेनेटरी प्याड उत्पादन गरी विक्री वितरण गरिरहेको छ ।
प्रदर्शनीको स्टल नम्बर एच ३ मा रहेको अन्जु सेनेटरी प्याडमा भिडभाड निकै भइरहेको सञ्चालक अन्जु थापाले बताइन् । कपडाबाट बनेको प्याडलाई धोएर ३ वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने बताइन् । उनले भनिन्,‘हामीले प्रदर्शनीमा यो पटक यही रुपन्देहीमा नै बनेको र पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लिएर आएका छाँै । लामो समयदेखि यसको बारेमा बताउँदै आए पनि यसपटक यहाँ आउन दर्शकलाई प्याडको बारेमा जानकारी गराइरहेका छौं । ’
कीटाणुरहित कपडाको प्रयोग गरेर बनाएका सामग्रीहरू रहेको र लामो समयसम्म प्रयोग गर्न मिल्ने भएकोले महिलाहरूलाई निकै किफायती पर्न जाने उनको तर्क छ । अन्य प्याडहरू प्रयोग गरिसकेपछि फ्याँक्नुपर्ने भए पनि यो प्याड धोएर प्रयोग गर्न सकिने बताउँदै उनले यसको प्रयोग बढेमा थोरै भए पनि वातावरण प्रदूषण हुनबाट जोगिने बताइन् । उनले भनिन्, ‘हामीले कीटाणुरहित कपडाको प्रयोग गरेर प्याडहरू र पेन्टीलाईनरहरु बनाएका छाँै । यसको पुनः प्रयोग गर्न निकै सहज छ । बजारमा पाइने प्याड तथा पेन्टीलाईनरहरु प्रयोग गरेपछि फ्याँक्नुपर्छ, तर हाम्रो धुने र घाममा सुकाएपछि पुनः प्रयोग गर्न मिल्छ । यसले पर्यावरण समेत सुरक्षित हुन्छ ।’
स्टल तथा उद्योगमा २ सय देखी ५ सय प्याडका विभिन्न प्रकार र २ सय ५० रुपैयाँ पर्ने पेन्टीलाईनरहरु पनि रहेको उनले जानकारी दिइन् । पहिले प्रयोग गरेका महिलाहरूले निकै उत्सुकताका साथ पुनः खरिद र अन्य साथीहरु पनि ल्याएको उनले बताइन् ।
‘हामीसँग फरकफरक प्रकृतिका प्याडहरू छन् । हामीसँग महिला दिदीबहिनीहरुसँग घरमै भएको सफा कटनको कपडा राखेर प्रयोग गर्न मिल्ने र सिधै हाम्रै प्याड प्रयोग गर्न मिल्ने गरी दुई प्रकारका प्याडहरू रहेका छन् । तर हामीले सिधै हाम्रो प्याड प्रयोग गर्न सुझाव दिन्छौं ।’ उनले भनिन्, ‘हामीसँग दुईवटा (जोडी) लिएर जानेहरू धेरै हुनुहुन्छ र हामी पनि यही सुझाव दिइरहेका छौं । एउटा प्रयोग गर्ने र अर्को धुन मिल्ने गरी । यसरी सहज तरिकाले प्रयोग गर्न सकिन्छ । ’
प्रदर्शनीमा दैनिक औसतमा २० हजार भन्दा बढीको कारोबार भइरहेको उनको भनाइ छ । उनले प्रदर्शनीमा आउने ग्राहकका लागि क्युआर कोर्डको पनि व्यवस्था गरेकी छन् । यसले सामग्री किन्नको लागि हातमा पैसा नभए पनि सजिलो भएको उनको दावी छ । प्रविधिको प्रयोगलाई पनि ध्यानमा राखेर क्यूआर कोर्डको व्यवस्था गरिएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij