
मंगलवार , पौष १२, २०७९
भारत (पुने), १२ पुस ।
भारतको महाराष्ट्र प्रदेशस्थित पुनेमा जारी एनकेएफआई इन्टरनेशनल कराँते एण्ड किक बक्सिङ प्रतियोगिता–२०२२ अन्तर्गत मंगलबार नेपालले कातातर्फ ८ वर्ष मुनी उमेर समूहमा सिद्धार्थ राना मगरले सिल्भर मेडल ल्याएर खाता खोलेको छ । योसँगै नेपालको विजयी सुरुवात भएको छ ।
विजेता रानालाई जापान गोजूरियो कराँते डो मिसन संघका रुपन्देहीका अध्यक्ष उमेश थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । नेशनल कराते फेड्रेशन अफ इण्डियाको आयोजनामा भारतको पुनेस्थित नेताजी सुवास चन्द्र बोस मिल्ट्री स्कुल इनडोर स्टेडियममा जारी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानका राष्ट्रिय कराँते खेलाडी सहभागी रहेको जापान गोजूरियो कराँते डो मिसन संघका सचिव गिरी प्रसाद पुनले बताए ।
नेपालबाट जापान गोजूरियो कराते डो मिसन संघ, नेपालका विभिन्न तौल समूहका ११ जना राष्ट्रिय कराँते खेलाडीहरू सहभागी छन् । नेपालबाट सहभागी भएका सम्पूर्ण खेलाडीहरूले गोल्ड मेडल ल्याउनेमा आफू विश्वस्त रहेको प्रमुख प्रशिक्षक तथा संघका संस्थापक अध्यक्ष के.बि. रानाले बताए । प्रमुख प्रशिक्षक केबि. रानाको लगनशीलता र मिहिनेतले खारिएका नेपाली खेलाडीहरू अब्बल र सक्षम रहेको एन के एफ आई नेशनल कराते फेड्रेशन अफ इण्डियाका संस्थापक टेक्निकल डाइरेक्टर राजु थापाले बताए । उनले कराँते खेलाडीले विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गरेको स्मरण गर्दै यसपटक पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए ।
संघका प्रमुख सल्लाहकार भरत बहादुर केसीले प्रतियोगितामा सहभागी सबै टीमलाई पराजित गरी नेपाल प्रथम हुनेमा विश्वस्त रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij