
मंगलवार , पौष १२, २०७९
भैरहवा, १२ पुस ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरुले मंगलबार रुपन्देहीको भैरहवास्थित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको गेटमा धर्ना दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको भवन अगाडिबाट सुरु भएको सुरु भएको विरोध र्याली नाराबाजीसहित नगरको विभिन्न भागको परिक्रमा गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगर गेट अगाडि पुगेर उद्योगी व्यवसायीहरुले धर्ना दिएका हुन् ।
धर्नामा सहभागी उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक, उद्योग व्यवसाय गर्ने वातावरण कायम गर, पर्यटन व्यवसाय विस्थापित होइन स्थापित गर, ब्याजदर एकल बिन्दुमा कायम गर, प्रिमियम दर बढीमा २ प्रतिशत गर, उद्योग व्यवसाय नीति कायम गर, चालू पुंजी कर्जा निर्देशिका २०७९ खारेज गर, सावा र ब्याज भुक्तानी अवधी बढाउ जस्ता नारा लगाएका थिए ।
उद्योगी व्यवसायीहरुले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको बताए । उनले भने, ‘व्यवसायीले राष्ट्र बैंकका गभर्नरसँग समस्या राख्दा ऋण लिएपछि तिर्नुपर्छ भन्ने जवाफ आयो । ’ मुलुकका सम्पूर्ण उद्योगी व्यवसायीले ऋण नतिरे बैंकले कसरी निक्षेप फिर्ता गर्न सक्छ भन्दै उनले प्रश्न गरे ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । चर्को बैंक ब्याजदर घटाउन उनले माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोभिडको मारमा पुगेका उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले धेरै उद्योग बन्द भएको र उत्पादन क्षमता समेत घटेको अवस्था रहेको बताए । उनले भने, ‘विभिन्न चरणमा माग अघि सारेका छौं, तर राज्यले सुनेको छैन, नेपाल राष्ट्र बैंक कानमा तेल हालेर बसेको छ ।’ अध्यक्ष शर्माले बजारलाई चलायमान गराउन बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्नुपर्नेमा ज्यादती गरेको बताए । उनले बैंकले उद्योगी व्यवसायीलाई मानसिक यातना दिइ घरघरमा आतंक सिर्जना गरेको आरोप लगाए । उनले बैंकले आतंक सिर्जना गर्ने कार्य नरोके बैंकमा तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले ८–९ प्रतिशत ब्याजदर बढेर १६ प्रतिशतसम्म पुगेको बताए । उनले बैंक ब्याजदर बढ्ने र व्यवसाय घट्ने भइरहेको बताए । उनले भने, ‘कर्मचारीलाई तलब दिन सक्ने अवस्था छैन, बैंकको ब्याज किस्ता तिर्न असम्भव जस्तै छ ।’ अग्रवालले उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न र बजारलाई चलायमान गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरे ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले उद्योगी व्यवसायीले गरेको आन्दोलनमा आम नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए । उनले भने, ‘जुन बैंकका कारण उद्योगी व्यवसायीले आत्महत्या गर्छन्, त्यही बैंकलाई हामी आतंकित बनाउँछौं ।’
बैंकको ब्याजदर एकल अंक कायम गर्नुपर्ने, चालू पूँजी कर्जाको नीति संशोधन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक्नुपर्ने लगायतका माग राखेर उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । सरकार माग पूरा हुनेमा समेत उद्योगी व्यवसायी आशावादी देखिएका छन् । नयाँ सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आशावादी रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डेले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) लगायत डेढ दर्जन संघ–संस्थाहरु धर्नामा सहभागी भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij