
सोमवार , पौष ११, २०७९
भैरहवा, ११ पुस ।
कोरोना महामारीपछिको विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले ब्याज तथा किस्ताका लागि दबाब दिएर ज्यादती गरेको भन्दै त्यसकाविरुद्ध आन्दोलन गर्ने उद्योगी–व्यवसायीहरुले घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाको ज्यादती एवं चालु पूँजी कर्जा निर्देशिका २०७९ को असरबारे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले बैंकिङ्ग क्षेत्रको आतंकले आफूहरु निकै तनावमा रहेको गुनासो गरे ।
सहज परिस्थिति हुँदा घरघरमा गएर माग र आवश्यकताभन्दा बढी कर्जा थोपर्ने काम बैंक कर्मचारीबाटै भएको, कर्जा दिएपछि ब्याजदर बढाउँदै लगेर ढाड सेकेको गुनासो गर्दै व्यवसायीहरुले अहिले आर्थिक मन्दी, ब्यापारमा शुन्यता र संकटको समयमा कर्जा असुलीका लागि अनावश्यक दबाब दिने गरेको दावी गरे । उद्योगी व्यवसायीले घाटा खान हुने तर बैंक तथा वित्तीय संस्थाले सधैं नाफा मात्रै कमाउनु पर्ने ? उद्योगी व्यवसायीले प्रश्न गरे – बैंककै कारण व्यवसायी धरासायी भएका हुन् । छलफलमा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले बैंकको दबाब र ज्यादती रोक्न संघर्षका कार्यक्रम सुरु गर्न सुझाव दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले वर्तमान समयमा अधिकांश उद्योग व्यवसाय बन्द भएको बताए । उनले मुलुकको अर्थतन्त्र चलायमान हुनुपर्ने बताए । उनले भने, ‘उद्योग व्यवसायीलाई मानसिक रुपमा यातना दिइएको छ, अहिलेको अवस्थामा त घरजग्गा विक्री गरेर पनि ऋण तिर्न सकिदैन । ’अध्यक्ष शर्माले बैंक र वित्तीय संस्थाविरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताए । निजी क्षेत्र मात्र नभइ वित्तीय क्षेत्र समेत संकटमा रहेको उनको भनाइ थियो । उनले संकटको समयमा बैंकहरुले व्यवसायीलाई साथ दिनुपर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्यालाई महासंघमार्फत गम्भिरतापूर्वक उठाउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले निक्षेप जम्मा गर्न बैंकबीच प्रतिष्पर्धा भएका कारण अहिलेको अवस्था आएको बताए । उनले उद्योगी व्यवसायीले बैंक ब्याज, किस्ता नतिरे बैंकले सर्वसाधारणले जम्मा गरेको निक्षेप कसरी फिर्ता गर्न सक्छ भन्दै प्रश्न गरे । उनले नेपाल राष्ट्र बैंकको नीतिका कारण समस्या आएको बताए । उनले भने, ‘बैंकहरुको बढी नाफा कमाउने होडका कारण विगत दुई–अढाई वर्षदेखि यस्तो समस्या आयो ।’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उद्योगी व्यवसायीलाई अनावश्यक दबाब नदिन बैंकहरुलाई आग्रह गरे । उनले सरकार र राष्ट्र बैंकले नीतिगत सुधार गरी उद्योगी व्यवसायीलाई बचाउनुपर्ने धारणा राखे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले पुर्वदेखि पश्चिमसम्मका व्यवसायी समस्यामा परेको, आर्थिक संकट र व्यवसाय प्रभावित हुँदा चेक बाउन्सका मुद्दा खेप्न अदालत र प्रहरी कार्यालय धाउनु परेको बताए । उनले समस्या समाधान नभए देशभरका हजारौं उद्योगी व्यवसायी विस्थापित र कालोसूचीमा पर्ने खतरा रहेको जानकारी दिए ।
अध्यक्ष न्यौपानेले उद्योगी व्यवसायीहरुले आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए । आन्दोलन कहिलेदेखि गर्ने र आन्दोलनको स्वरुप कस्तो हुने विषयमा अहिले नै निर्णय नभएको उनले बताए । सरकारले सही रुपमा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन नसकेकाले उद्योगी व्यवसायी मारमा परेको न्यौपानेको भनाइ छ ।
आइतबार भएको छलफलले बैंक ज्यादतिविरुद्ध आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको छ, सोहीअनुसार आन्दोलनमा जाने निश्चित छ । उनले भने, ‘आन्दोलन कहिलेदेखि गर्ने र कस्तो किसिमको आन्दोलन गर्ने भन्ने विषयमा यस क्षेत्रमा रहेका अन्य संघ–संगठन तथा वस्तुगत समितिहरुको छलफलपछि सार्वजनिक गर्छौं ।’
संघका पूर्व उपाध्यक्ष चन्द्रमान श्रेष्ठले राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई नियमन गर्न नसकेको बताए । उनले उद्योग भन्दा बैंकको संख्या धेरै भएको बताए । पूर्व उपाध्यक्ष ऋषिकेश अग्रवालले चौतर्फी मन्दीका बीच बैंकको कर्जा र कर एकै समयमा तिर्न निकै कठिन हुने भएकाले आवश्यक सहयोग गर्न आग्रह गरे । उद्योग व्यापार संगठन, रुपन्देहीका कोषाध्यक्ष राममिलन यादवले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताए ।
पर्यटन व्यवसायी संजय बजिमयले कृषिसँगै पर्यटन व्यवसायलाई पनि अनुदान र सहयोग चाहिएको बताए । उनले ऋणको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य अमित गोयनका ठूला उद्योग किन बन्द भइरहेका छन् भन्दै प्रश्न गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य हरि बहादुर थापाले ब्याजदर घटाउने मात्र नभइ दीर्घकालीन रुपमा समस्या समाधानतर्फ लाग्ने उपाय खोज्नुपर्ने बताए ।
व्यवसायी अरुण कुमार गुप्ताले ९ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नियम लागू गर्नुपर्ने माग गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, नेपाल चलचित्र संघका उपमहासचिव ओम जैसी, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कूल प्रसाद न्यौपाने, पूर्वअध्यक्ष रामकुमार शर्मा, कार्यसमिति सदस्य गोपाल भण्डारी, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उद्योगी केशव विक्रम खड्का, व्यवसायी उमेश अग्रहरी, चिरिञ्जीवी रावत, चन्द्रमणि अधिकारी, रामकुमार शर्मा, डा. शम्भु गुप्ता, कुरबान अली फकिर, विष्णु प्रसाद पन्थी, मदन पौडेल लगायतले उद्योगी व्यवसायीले बैंकको किस्ता ब्याज तिर्न सक्ने अवस्था नरहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij