
आइतवार , पौष १०, २०७९
भैरहवा, १० पुस ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा जेसिज उच्च मावि, भैरहवाले सीसीटी कलेज, बुटवललाई ३० रनले पराजित गर्दै जीत हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा ७ विकेटको नोक्सानीमा १ सय ४२ रन बनायो । उसका लागि संगम पाण्डेले ४७, अजय कुमार चौहानले २२, अस्मान थारुले नटआउट १६ र सागर कुँवरले ११ रन बनाए । बलिङमा सीसीटीका अमित तिवारीले २ तथा विष्णु कटरिया, इकलाख वारि र अनिल आचार्यले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सीसीटीले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि विष्णु कटरियाले २४, इकलाख वारिसले २०, सन्तोष पाण्डेयले १८ र आनन्द गौडले १७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न जेसिजका निश्चल भुसालले ३, क्रिश्चल केसी र अजयकुमार चौहानले समान २–२ तथा शैलेन्द्र यादवले १ विकेट लिए । खेलमा जेसिजका संगम पाण्डे म्यान अफ द म्याच भइ पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता पुस १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टीमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij