२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

उत्कृष्ट लुम्बिनी सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न

आइतवार , पौष १०, २०७९

भैरहवा, १० पुस ।

उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, भैरहवा, रुपन्देहीको दोस्रो वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर–९ उदयपुरस्थित चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)को सभाहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य प्रा.डा. कपिलदेव लामिछानेले लगानी गरेको ठाउँबाट धेरै मुनाफाको अपेक्षा गर्नु स्वभाविक भएको बताए । उनले सहकारीमा भएका गतिविधिबारे जानकारी लिनुपर्ने र सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘केही समस्या देखिएमा छलफल गर्नुपर्छ ।’

सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष खिमबहादुर खत्रीले यस क्षेत्रमा कार्यरत दुईवटा सहकारी संस्थाहरु एकीकरण भइ २०७८ माघ १ गतदेखि उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको नामबाट यो संस्थाले कारोबार सुरु गरेको बताए । उनले हालको अवस्थामा सहकारी सञ्चालन तथा नियन्त्रणको लागि प्रदेश तथा स्थानीय सरकारले सहकारी ऐन र सहकारी नियमावलीहरु जारी गरी लागू भएको र सहकारीका गतिविधिहरु नीति, विधि र प्रविधि अंगीकार गरी सञ्चालन गर्न मार्गनिर्देशन गरेको अवस्था भएको बताए । उनले भने, ‘संस्थाको शेयर पुँजी ३ लाख ७३ हजार ४ सय रुपैयाँले वृद्धि भइ ९१५ जना शेयर सदस्यको २ करोड ८ लाख ७३ हजार ६ सय रुपैयाँ रहेको छ, त्यस्तै बचत ६३ लाख ४ हजार ८ सय ९ रुपैयाँले वृद्धि भइ ७ करोड ३३ लाख ८० हजार ५ सय १५ रुपैयाँ रहेको छ । ’

संस्थाका सल्लाहकार सुरेन्द्र बस्यालले विश्वको अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको र त्यसको प्रभाव नेपालमा समेत परेको बताए । उनले सहकारीले आर्थिक अनुशासनलाई महत्व दिनुपर्नेमा जोड दिए ।

संस्थाका सल्लाहकार विश्वराज बराल (अनुप) ले छरिएर रहेका सहकारीहरुबीच एकीकरण गरी बलियो र ठूलो सहकारी बनाउनुपर्नेमा जोड दिए । उनले सहकारीलाई व्यवस्थित र बलियो बनाउनुपर्ने बताए ।

संस्थाका उपाध्यक्ष नारायण प्रसाद भण्डारीले भैरहवाको वित्तीय क्षेत्रको ठूलो संस्थाको रुपमा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बनाउने कार्यसमितिको अठोट रहेको बताए । उनले संस्थालाई अगाडि बढाउन शेयर सदस्यको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

संंस्थाका शेयर सदस्य तथा मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले अरुको लहैलहैमा नलागी वास्तविक कुरा बुझ्नुपर्ने बताए ।

संस्थाका शेयर सदस्य रुद्र ज्ञवालीले संस्थामा आर्थिक पारदर्शीतालाई ध्यान दिनुपर्ने बताए ।

सहकारीका अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, शेयर सदस्य प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यता, उपाध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत तथा सचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कोषाध्यक्ष शारदा खातीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक रामचन्द्र रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।