
आइतवार , पौष १०, २०७९
भैरहवा, १० पुस ।
मयूर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–३, भैरहवा, रुपन्देहीको तेह्रौ वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई नगरबासीले गर्व गर्ने खालको शहर बनाउने बताए । उनले सिद्धार्थनगरलाई सुन्दर र व्यवस्थित शहर बनाउन लागिपरेको बताए । उनले भने, ‘फूलैफूलको शहर बनाउँछौं, नगरपालिकाले गर्ने राम्रो काममा नगरबासीको साथ र सहयोग आवश्यक छ । ’उनले सिद्धार्थनगर नगरपालिकामा गुट्खा र प्लाष्टिक प्रतिबन्ध गरिएको जानकारी दिए । छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिका लागिपरेको र यसका लागि प्रहरी, प्रशासन र कर्मचारीबाट सहयोग पाएको उनको भनाइ थियो । उनले राम्रो सोचका साथ अगाडि बढे विकासले गति लिने बताए । आफूबाट केही गल्ती भए त्यसलाई सच्याउन तयार रहेको र आफूलाई सल्लाह सुझाव आवश्यक रहेको उनको भनाइ थियो ।
नगरप्रमुख खानले मयूर बचत तथा सहकारी संस्थाले राम्रो काम गरेको र सहकारीको सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले कस्तो ठाउँमा लगानी गरिदैछ भन्ने कुराको जानकारी हुन आवश्यक रहेको बताए । उनले केही सहकारीले पैसा सही तरिकाले परिचालन गर्न नसकेका कारण समस्या उत्पन्न भएको बताए । उनले भने, ‘आफूले रोजेको सहकारी संस्थाको बारेमा जानकारी लिन आवश्यक छ ।’ कसैको प्रलोभनमा नपर्न उनले आग्रह गरे । उनले मयूर सहकारीको अवस्था राम्रो भएको बताए ।
संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष दिपक बहादुर कुवंरले संस्थाका शेयर सदस्यहरुको मासिक बचतलाई नियमित र कर्जा माग भएअनुसार प्रक्रिया पु¥याइ कर्जा लगानी गरिएको बताए । उनले नियामक निकाय सिद्धार्थनगर कार्यपालिकाबाट अनुगमन तथा संस्था निरीक्षण गर्दा दिइएका सुझावहरुलाई कार्यान्वयनमा ल्याइएको बताए । उनले भने, ‘आर्थिक वर्ष २०७८÷०७९ मा संस्थामा ९ जना महिला र १० जना पुरुष सदस्य गरी जम्मा १९ शेयर सदस्य थप गरी कुल २५४ जना शेयर सदस्य पुगेका छौं भने यस अवधिमा शेयर सदस्यहरुका ९ जना बालबालिकाहरुको बाल बचत खाता खोली जम्मा २८ जना बालबालिकाको बचत खाताहरु सञ्चालन गरिएको छ । ’उनले आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको शेयर पुंजी ९ लाख ८० हजारले वृद्धि भइ ८६ लाख पुगेको जानकारी दिए । त्यस्तै जगेडा कोषमा २० लाख ७७ हजार ६३, बचत निक्षेप ६ करोड ८२ लाख ७ हजार ५ सय २ र कर्जा लगानीमा ७ करोड ६ लाख ४९ हजार ३ सय १० रुपैयाँ रहेको उनले बताए ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड सिद्धार्थनगरका प्रबन्धक आलोक सिवाकोटीले सहकारीलाई कसरी अगाडि बढाउने भन्ने शेयर सदस्यको हातमा रहेको बताए । उनले सहकारीको उद्देश्यले धेरै नाफा कमाउने नभएको बताए ।
उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७ भैरहवाका अध्यक्ष खिमबहादुर खत्रीले सहकारीको मर्मअनुसार मयूर सहकारी सञ्चालन भएको बताए । उनले सहकारी कति नाफामा छ भन्दा पनि कस्तो सेवा दिन सक्यो भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मयूर सहकारी संस्थाले उत्कृष्ट कार्य गरेको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण भूमिका रहेको बताए । अध्यक्ष ज्ञवालीले सहकारीमैत्री नीति आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष थानेश्वर पौडेल, शेयर सदस्य सीता भण्डारी, राम प्रसाद भण्डारी, रीता कुवंर, शिक्षा उपसमिति सदस्य अर्जुन गौतम लगायतले बोल्दै सहकारी यहाँसम्म पुग्नुमा शेयर सदस्यको ठूलो भूमिका रहेको बताए ।
मयूर बचत तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक बहादुर कुंवरको अध्यक्षता, उपाध्यक्ष थानेश्वर पौडेलको स्वागत तथा सचिव लेखनाथ भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक कुल प्रसाद खनालले प्रस्तुत गरेको थिए । कार्यक्रममा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणीहरुलाई पनि सम्मान गरिएको सहकारीका सञ्चालक समिति सदस्य लक्ष्मण भण्डारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij