
शनिवार , पौष ९, २०७९
भैरहवा, ९ पुस ।
भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा साई ग्लोबल एकेडेमी ‘बी’ले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई ९ विकेटले पराजित गर्दै जित निकालेको छ ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बौद्ध विश्वविद्यालयले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार गरेको थियो । उसका लागि विशाल भुसालले ५२ र सूर्य पोखरेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा साई ग्लोबलका रितेश भुजले ३, इमरान खान र अभिषेक कोहाँरले समान २–२ तथा मोहम्मद हुसेन र सामोद पौडेलले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको साईग्लोबल ‘बी’ ले १६ ओभर २ बलमा १ विकेटको नोक्सानीमा १ सय १२ रन बनााउँदै जित निकाल्यो । उसको जितमा इमरान खानले ९९ रन बनाए । उनी म्यान अफ द म्याच भई पुरस्कृत भए । यस्तै, मिर्नाल गुरुङले १० रन बनाए । बलिङमा बौद्ध विश्वविद्यालयका विशाल भुसालले १ विकेट लिए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता पुस १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसै गरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टीमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij