२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

पाठेघरमा १२ किलोको ट्युमर, युसीएमएसमा सफल शल्यक्रिया

सोमवार , पौष ४, २०७९

भैरहवा, ४ पुस । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), शिक्षण अस्पतालमा पाठेघरको शल्यक्रिया गरी १२ किलोको ट्युमर निकालिएको छ । सोमबार बाग्लुङको तमानखोला गाउँपालिका–३ तमानकी ४० वर्षिय एक महिलाको शल्यक्रिया गरी ट्युमर निकालिएको युसीएमएसले जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङकाअनुसार लामो समयदेखि पेट दुख्ने, फुल्लिदै जाने, कुनै काम काम गर्न ग्राहो हुने जस्ता समस्याबाट ग्रसित भएपछि बिरामी उपचारका लागि युसीएमएस आएकी थिइन् । उपचारको क्रममा विभिन्न जाँचहरुपश्चात शल्यक्रिया गरी उक्त ट्युमर निकालिएको र हाल बिरामीको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिए । 

उक्त शल्यक्रियामा महिला तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. बेखालक्ष्मी मानन्धर, डा. मनोज लम्साल, डा. तारा के.सी., डा. हसिना बानो, शल्यक्रिया रोग विशेषज्ञ डा. राजेश पौडेल र एनेस्थेसिया विभागका डा. रेजिन कुमार उदय सहभागी थिए । त्यस्तै नर्सिङ्ग कर्मचारीहरुमा रोशनी गुरुङ्ग, एलिना खड्का, लव थापा र सन्जु चिढी संलग्न थिए ।

महिला तथा प्रसुती रोग विशेषज्ञ डा.मनोज लम्सालले विरामीको बायोप्सी रिपोर्ट पनि सामान्य रहेको र विरामी पहिला जस्तै सामान्य अवस्थामा फर्किएको जानकारी दिए । बिरामीको आर्थिक अवस्था कमजोर रहेकोले लाग्ने उपचार खर्चमा अस्पताल प्रशासनले छुट सुविधा दिएको युसीएमएसले जनाएको छ ।