२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

पशुपति मुरारका भन्छन्– अर्थतन्त्रमा अहिलेको जस्तो समस्या कहिल्यै थिएन

सोमवार , पौष ४, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ४ पुस ।
    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले अर्थतन्त्रमा अहिलेको जस्तो समस्या कहिल्यै नभएको बताएका छन् । उनले अहिले मुलुक गम्भिर अवस्थामा रहेको बताए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को सोमबार आयोजित समापन समारोहमा बोल्दै मुरारकाले हरेक क्षेत्रमा संकटमा रहेको बताए । उनले भने, ‘खाद्यान्नको विक्री समेत घटेको छ, मानिसहरुले खान छोडे कि क्या हो ?

    अटोमोबाइल्स, सिमेन्टको विक्री घटेको उनको भनाइ थियो ।’ उनले बैंक ब्याज तिर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेको बताए । उनले राज्यले निकास दिनुपर्नेमा जोड दिए । उनले भने, ‘राज्यले निकास दिन सकेन भने मुलुकको अवस्था के हुन्छ ? ’उद्योग व्यवसाय संकटमा पर्दा त्यसलाई बचाउन राज्यले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उद्योग व्यवसाय सञ्चालन गर्न राज्यले वातावरण बनाउनुपर्ने मुरारकाले बताए । उनले भने, ‘राज्य अर्थतन्त्रमैत्री हुनुपर्छ । ’ उनले बढ्दो बैंक ब्याजदर सम्बन्धमा नेपाल राष्ट्र बैंक, सरकारसँग मात्र नभइ अब बैंकर्सहरुसँग समेत कुरा गर्नुपर्ने बताए ।

    त्यस्तै संविधानसभा सदस्य आदित्य नारायण कसौधनले महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । उनले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायीसँगै आम नागरिक मारमा परेको बताए । 
    लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले नेता र कर्मचारी आर्थिक बन्न खोजेसम्म राष्ट्रको अर्थतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले मुलुक आर्थिक संकटमा रहेको र चर्को बैंक ब्याजदरले व्यवसायी मारमा परेको बताए । उनले भने, ‘सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’ पूर्वमन्त्री समेत रहेका पाण्डेयले स्थायी मण्डप निर्माणका लागि स्थानीय तहले जग्गाको खोजी गर्नुपर्ने र भौतिक पूर्वाधारको जिम्मा प्रदेश सरकारले लिने बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले मुलुकको विकासमा सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले पुस मसान्तमा बैंकको किस्ता ब्याज तिर्न सक्ने अवस्था नरहेको बताए । उनले चर्को बैंक ब्याजदरका कारण मुलुक समस्यामा परेको बताए ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले मेला महोत्सवको आयोजना गर्न स्थायी मण्डपको आवश्यकता रहेको बताए । उनले निजी क्षेत्रको विभिन्न समस्या रहेको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले प्रतिकूल परिस्थितिमा पनि महोत्सव सम्पन्न गरिएको बताए । उनले स्थायी संरचना नहुँदा मेला महोत्सवका लागि अस्थायी संरचनामा ठूलो धनराशी खर्च हुने गरेको बताए । उनले सरकार निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कृष्ण मुरारकाको प्रमुख आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ गत मंसिर २३ गतेदेखि भैरहवास्थित अञ्चलपुरमा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) सुरु भएको थियो ।महोत्सवमा २ लाखको हाराहारीमा दर्शकले अवलोकन गरेको र ५ करोड बढी कारोबार भएको आयोजकले बताएका छन् ।