२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

बैंकको चर्को ब्याजदरले व्यवसाय संकटमा परेको मदिरा व्यवसायीको गुनासो

आइतवार , पौष ३, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ३ पुस ।
    बैंकको चर्को ब्याजदरका कारण आफूहरुको व्यवसाय संकटमा परेको मदिरा व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग राख्न माग समेत गरेका छन् ।

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम–२०७९ मा बोल्दै व्यवसायीहरुले अत्याधिक रुपमा वृद्धि भएको व्यवसायिक कर्जाको ब्याजले व्यवसाय सञ्चालन गर्न समस्या उत्पन्न भएको बताए । बाउन्नकोटी सामूदायिक वन चिल्हिया, रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा व्यवसायीहरुले कोरोनाले थला परेको व्यवसायलाई चर्को बैंक ब्याजदरले झनै समस्या थपेको गुनासो गरे ।

    कार्यक्रममा बोल्दै नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी संगठित हुन आवश्यक रहेको बताए । उनले मदिरामा अन्तःशुल्क दर बढाउँदा भारतबाट मदिरा आउने सम्भावना भएकाले स्वदेशी बजारको प्रवद्र्धनका लागि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सीमा पारीबाट नेपाली बजारमा मदिरा ल्याएर विक्रीवितरण गर्नु भनेको नेपाली बजारका लागि राम्रो होइन, मदिरा व्यवसायीले उठाएका माग सरकारले सम्बोधन गर्न आवश्यक छ । ’

    नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार खिम बहादुर खत्रीले मदिरा व्यवसायमा देखेका समस्या समाधान गर्न महासंघले पहल गर्नुपर्ने बताए । उनले भने,‘ ‘व्यवसायीको माग सम्बोधन गराउनका लागि आवाज बुलन्द पार्नुपर्छ ।’

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवाले छोटो समयमा ऐतिहासिक काम गरेको बताए । उनले राज्यले मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले भने, ‘सबै व्यवसाय करको दायरामा आउनुपर्छ । ’ उनले बढ्दो बैंक ब्याजदरले व्यवसाय सञ्चालनमा समस्या थपिएको बताए । अध्यक्ष ज्ञवालीले विभिन्न बैंकले सहुलियत दरको महिला उद्यमी ऋण तथा अन्य व्यवसायी सुविधाका ऋण सबै व्यवसायीलाई दिए पनि उक्त ऋण मदिरा व्यवसायीलाई नदिने गरेको बताए ।

    नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य भीष्म अर्यालले कोभिड महामारी, नाकाबन्दी लगायतका कारणले व्यवस्था सञ्चालनमा समस्या उत्पन्न भएको बताए । उनले व्यवसायिक समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए ।

    मदिरा व्यवसायी संघ, परासीका अध्यक्ष हरि बहादुर भण्डारीले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले बढ्दो बैंक ब्याजदरले व्यवसाय संकटमा परेको गुनासो गरे ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले होटल र मदिरा व्यवसाय एक अर्काका परिपूरक भएको बताए । उनले होटल नचले मदिरा विक्रीवितरणमा समेत असहज हुने बताए । उनले रात्रीकालिन व्यवसाय सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताए । उनले होटल मात्र नभइ पेट्रोल पम्पदेखि मदिरा पसलसम्म सबै सञ्चालन भए रात्रीकालिन व्यवसाय सफल हुने बताए ।

    नेपाल अडिटर्स एशोसियशनका केन्द्रीय सल्लाहकार गोविन्द प्रसाद रेग्मीले व्यवसायिक संघ संस्थाको उद्देश्य व्यवसायीलाई मर्यादित तथा सक्षम बनाउनु भएको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार ठाकुरकुमार श्रेष्ठले कठिन परिस्थितिका बाबजुद उद्योग व्यवसाय सञ्चालन भइरहेको बताए । उनले व्यवसायी एकजुट हुनुको विकल्प नरहेको बताए । उनले भने, ‘ ब्याजदर बढिरहेकाले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्काउनुपर्छ ।’ 

    सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले व्यवसाय बचाउनु सरकारको पनि दायित्व भएको बताए । उनले एकल अंकमा ऋणको ब्याजदर कायम गर्नुपर्ने माग गरे । उनले भने, ‘बैंक ब्याजदर बढिरहेको छ, यो अवस्थामा व्यवसाय सञ्चालन गर्न सक्दैनौं । ’
    भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैंक ब्याजदर बढेकाले किस्ता, ब्याज तिर्न सक्ने अवस्था नरहेको बताए । उनले बजार चलायमान हुन नसकेकोले नाईट मार्केट सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । ’

    मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई अन्य व्यवसायी सरह व्यवहार गर्नुपर्ने बताए । उनले मदिरा पनि पर्यटनसँग सम्बन्धित भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुको बसाइ लम्ब्याउने खालका कार्यक्रम होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ–संगठनसँग अन्तरक्रिया तथा गोष्ठी गरिने बताए । संस्थाले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

    साधारणसभामा संघका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुंवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मदिरा व्यवसायी संघ, भैरहवामा हाल १६१ जना सदस्य रहेको उपाध्यक्ष भागीरथ पाण्डेले जानकारी दिए ।