२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

टुगा आस्था विकास सहकारीको भैरहवा सेवा केन्द्र शुभारम्भ

मंगलवार , मंसिर २७, २०७९

भैरहवा, २७ मंसिर ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित कटैयामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवा सेवा केन्द्रको शुभारम्भ गरेको छ । सिद्धार्थनगर–८ देवपथस्थित भाई मार्केटमा (कुमारी बैंक पछाडि) मंगलबारदेखि शुभारम्भ भएको सेवा केन्द्रको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै नगरप्रमुख खानले केही सहकारीकाबारेमा जानकारी प्राप्त भएकाले सिद्धार्थनगर भित्र कुनै संस्थाले गलत कार्य गरेमा कारवाही हुने बताए । उनले सर्वसाधारणको पैसा सहकारीमा जम्मा हुने भएकाले त्यो पैसा सुरक्षित गर्ने काम सहकारीको भएको बताए । उनले भने, ‘रगत र पसिनाको कमाइबाट बचेको पैसा सर्वसाधारणले सहकारीमा विश्वास गरेर जम्मा गर्ने भएकाले उहाँहरुको विश्वासमाथि कुठाराघात गर्ने जुनसुकै संस्था कारवाहीको दायरामा आउनेछन् । ’टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेको आफूले पाएको उनको भनाइ थियो । राम्रोलाई राम्रो भन्नुपर्नेमा उनले जोड दिए ।

udhghatan.jpg

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डी.बी. थापाले २०६२ साल मंसिर २८ गते स्थापना भएको यो सहकारीमा ६ हजार १ सय ३५ जना शेयर सदस्य रहेको जानकारी दिए । उनले टुगा सेवा केन्द्र तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, आस्थाश्री सेवा केन्द्र ओमसतिया–१ ठुटीपीपल, देवनारी सेवा केन्द्र सियारी–१ र भैरहवा सेवा केन्द्र सिद्धार्थनगर–८ देवपथमा गरी सहकारीको ४ वटा सेवा केन्द्र रहेको बताए । उनले आस्थाश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१, नेपाल टुगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ र देवनारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सियारी–१ बीच २०७६ असोज २६ गते एकीकरण भइ टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको जानकारी दिए । सहकारीमा सदस्यहरुका लागि पाँचलाखको दुर्घटना बीमा सुविधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पत्ति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको अध्यक्ष थापाले बताए । सहकारीमा ७४ करोड शेयर पुँजी रहेको उनले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका संचालक भीम प्रसाद तुलाचनले सहकारी सदस्य केन्द्रीत हो भन्ने विश्वास दिलाउन आवश्यक रहेको बताए । उनले सहकारी संस्थाले सहज र सरल रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले भने, एउटै उद्देश्य बोकेका दुई सहकारीमा शेयर सदस्य नबन्नुस् ।

बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले आफूले नजिकबाट टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लाई चिनेको बताए । उनले ब्याजको लोभमा नपरी सहकारीलाई राम्रोसँग बुझेर मात्र कारोबार गर्न आग्रह गरे ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश केसीले सहकारी विपन्नको सारथी बन्नुपर्ने बताए । उनले सहकारीले विश्वसनीयता कायम गर्न सक्नुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले जनसंख्याको अनुपातमा धेरै सहकारीहरु रहेको बताए । उनले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रीत नभइ सहकारीले उत्पादन, उत्पादकत्व, बजार, रोजगारी सिर्जनामा पनि ध्यान दिनुपर्ने बताए ।

पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईले शेयर सदस्यलाई नजिकबाट सेवा दिने उद्देश्यले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको भैरहवा सेवा केन्द्र शुभारम्भ भएको बताए । उनले केही खराब व्यक्तिका कारण सहकारी अभियानमा समस्या आएको बताए । 

सहकारीका शेयर सदस्य तथा पत्रकार मनोरञ्जन शर्माले बुझेर मात्र सहकारीमा लगानी तथा बचत गर्नुपर्ने बताए । उनले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको भैरहवा सेवा केन्द्र शुभारम्भ हुनु खुसीको कुरा भएको बताए ।

सहकारीका उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत तथा संचालक सदस्य गोकुल पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_8699.JPG