२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नेपालमै शुरु भयो टायलको उत्पादन, आकर्षक डिजाईनमा उपलब्ध

सोमवार , मंसिर २६, २०७९

बारा। नेपाली कच्चा पदार्थको प्रयोग गरेर नेपालमै उच्च गुणस्तरको टायल उत्पादन सुरु गरिएको छ। लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरि उत्पादन शुरु गरेका हुन्। 

युवा व्यवसायि शम्भुनाथ झा र मनोज रौनियारले उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा लामो समयसम्मको अध्ययनपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिका अध्यक्ष सम्भुनाथ झाले जानकारी दिए। 

नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ। उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्राण्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ। छिट्टै भित्तोलगायतका ठाउँमा लगाउने फरकफरक खालका टायलसमेत उत्पादन गर्ने योजना रहेको झाले बताए। 

पाँच बिघा १२ कट्ठा जमिनमा रु एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेर उद्योग सुरु गरिएको अध्यक्ष झाले जानकारी दिए। उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएको कम्पनीले जनाएको छ। सुरुमा भारतबाट एक सय ५० जना प्राविधिक कामदार ल्याइएकोमा अहिले घटाएर एक सयमा झारिएको छ। यो सङ्ख्या क्रमशः घटाउँदै लैजाने उनको भनाई छ। 

अहिले उद्योगले मासिक २० करोड हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ। देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन्। विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पुर्याउन सहज भएको उद्योगले जनाएको छ। पहिलो चरणमा भुईँमा बिछ्याउने फरक–फरक साइजका टायल उत्पादन भएका छन्। 

278432408_130184929602431_7903613944632729377_n.jpg

अध्यक्ष झाले भने, “हामीले उद्योग सुरु गरेसँगै अन्य व्यवसायीले पनि उद्योग सञ्चालनको तयारी गरेका छन्। यही ढङ्गले अघि बढेमा पाँच/सात वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ।” सम्पूर्ण उपकरण इटलीमा बनेको भन्दै उनले भारतीय उत्पादनभन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताए। 

उनका अनुसार उपकरणका लागि मात्रै रु ७० करोडभन्दा बढी खर्च भएको छ। उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उनको भनाई छ। कम्पिनीले केहि महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको उद्योगका उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारले जानकारी दिए। 

सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताए। उनले भने, “एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो। नेपाली माटो टायलका लागि उत्तम देखियो।”

भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताए। भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो रु आठ पर्छ भने नेपाली माटो रु तीनमा उद्योग आइपुग्ने उनको भनाइ छ।

उद्योगका प्रबन्ध निर्देशक रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ। उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ। झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष रु ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताए।