२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

नरैनापुरमा शिक्षा सुधारको लागि शैक्षिक अन्तरक्रिया

शनिवार , मंसिर २४, २०७९

बुटवल, २४ मंसिर । 
बुटवल उपमहानगरपालिका १६ डहर गाउँकी हिमादेवी पौडेलका छोरा युजल २ कक्षामा पढ्छन् । छोरा युजललाई २ वर्षसम्म उनले निजी विद्यालयमा पढाइन् । तर हिमादेवीले यो शैक्षिक वर्षमा छोरा युजललाई घर नजिकै रहेको नरैनापुर आधारभूत विद्यालयमा भर्ना गरिन् । ‘पहिले छोराको पढाई निकै कमजोर थियो, अहिले प्रत्येक परीक्षामा ४ जीपीए ल्याउन सफल भएको छ ।’ हिमादेवीले यो कुरा  विद्यालयले शुक्रबार आयोजना गरेको शैक्षिक अन्तरक्रियामा राखेकी हुन् । 

दुई छोरीसँगै छोरालाई पनि बोर्डिङ्ग स्कूलमा पढाए उनले थपिन्, ‘अहिले बोडिङ्ग स्कूल छाडेर सामुदायिक विद्यालयमा छोरालाई भर्ना गरेकी छु र पढाईमा अब्बल बन्दै गएको छ ।’

विद्यालयले लिने प्रत्येक परिक्षामा छोराले ४ जीपीए ल्याउने गरेको उनले सुनाइन् । आफ्नै घर नजिकै रहेको सामूदायिक विद्यालयलाई सुधार गर्नुपर्ने र यो कुरा स्थानीयमै भर पर्ने पौडेलले बताइन् । सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुँदा पनि समाजसेवी बुद्धिजीवीले नै निजी विद्यालयमा विद्यार्थी भर्ना गर्दा सामूदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको गुनासो पोखिन् ।  

शिक्षक र विद्यालय व्यवस्थापन समितिको लगनशिलताले सामूदायिक विद्यालयमा सुधार आउँछ भन्ने पछिल्लो उदाहरण नरैनापुर आधारभूत विद्यालयले प्रस्तुत गरेको छ । बुटवल–१६ मा रहेको विद्यालयले ८ महिनामै शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको यहाँका स्थानीयहरुले बताएका छन् । 

सामूदायिक विद्यालयको शिक्षा क्षेत्रमा सुधार आए पनि घरघरमा पुगेर प्रचारप्रसार गर्न नसकेको भूतपुर्व शिक्षक सुर्दशन जोशीले गुनासो राखे । सामूदायिक विद्यालयमा क्रमिक रुपमा सुधार आएको र शिक्षाको गुणस्तर वृद्धि हुँदा विद्यार्थीको चाप बढ्दै गएको बताए । सामूदायिक विद्यालयमा अब्बल तालिम प्राप्त, डिग्री होल्डर शिक्षक छन् तर विद्यालय घर–घरमा पुग्न नसक्दा केही विद्यालयमा विद्यार्थीको कमी आएको सुनाए ।  विद्यालयका जग्गादाता मदनमान श्रेष्ठका छोरा प्रवलमान श्रेष्ठले विद्यालयले पढाईसँगै विद्यार्थीको क्षमता वृद्धि गर्नको लागि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने सुझाव दिए । सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम बहादुर पौडेलले बुटवल बजारका मात्र नभएर तिनाउ पारिका सामुदायिक विद्यालय पनि शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको र नरैनापुर विद्यालय यसको उदाहरण रहेको दावी गरे  । नरैनापुर विद्यालयले ८ महिनाको समयमा नै शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनेको बताए  । 

बुटवल वडा नम्बर १६ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले शिक्षक र ब्यवस्थापन समितिको खटाईबाट नै शैक्षिक क्षेत्रमा सुधार देखा परेको बताए  । उनले न्यून विद्यार्थी रहेको नैरनापुरमा शिक्षक र ब्यवस्थापन समितिको पहलबाटै सामूदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएको बताए । सामूदायिक विद्यालयमा अब्बल शिक्षक भएको र अंग्रेजी माध्यमबाट पढाई हुँदा अभिभावकको रोजाइ सामूदायिक विद्यालय बन्न पुगेको पौडेलको भनाइ छ ।  

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले शिक्षकहरुको लगनशिलता र अभिभावकको चासोले गर्दा विद्यालयमा शैक्षिक सुधार गर्न सकिएको बताए  । विद्यालयले अंग्रेजी माध्यमबाट मात्र शिक्षा प्रदान नगरेर विद्यार्थीको संस्कार र संस्कृति विकासमा जोड दिइएको बताए । सामूदायिक विद्यालयमा विद्यार्थीको आर्कषण वृद्धि भइरहेको पौडेलले बताउँदै विद्यालयलाई आवश्यक पर्ने भौतिक संरचना निर्माणको लागि तीनै तहका सरकारबाट सहयोग आवश्यकता रहेकोमा जोड दिए । 

२०७८ को शैक्षिक सत्रमा ६५ विद्यार्थी रहेको विद्यालयमा अहिले वृद्धि भएर १५० पुगेको विद्यालयका प्रधानध्यापक अम्बिका अर्यालले जानकारी दिइन् । विद्यालयले शिक्षा क्षेत्रको लागि गर्नुपर्ने प्रयास र अभिभावकको भूमिकालाई जोड दिएर शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताइन् । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा अहिले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको अर्यालले बताइन् । विद्यालयले मासिक रुपमा आन्तरिक परिक्षा सञ्चालन गर्दै विद्यार्थीको शैक्षिक अवस्थाका विषयमा अभिभावकसँग निरन्तर छलफल र संवाद गर्दै जाँदा शिक्षामा सुधार देखिएको उनले सुनाइन् । २०२४ सालमा विद्यालय स्थापना भएको हो ।