२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

शुक्रवार , मंसिर २३, २०७९

भैरहवा, २३ मंसिर ।
गृहमन्त्री बालकृष्ण खाँणले राज्यको मेरुदण्डका रुपमा रहेका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । उनले अब बन्ने सरकारले नेपालका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधानका लागि गम्भिरतापूर्वक अघि बढ्ने बताए ।

शुक्रबारदेखि भैरहवामा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला)को उद्घाटन गर्दै गृहमन्त्री खाँणले नेपालका उद्योगी व्यवसायीले व्यहोर्नुपरेको आर्थिक मन्दीको समस्यालाई सम्बोधन गर्न प्रधानमन्त्रीबाट समेत प्रतिवद्धता व्यक्त भएको बताए । उनले निर्वाचन हुनु सबैको जीत भएको बताए । उनले भने, ‘नेपालको संविधानले नेपाली जनतालाई मालिक मानेको छ, जनताले सरकारको निर्माण÷चयन, बदल्ने हो । ’ निर्वाचनको परिणामलाई बढो सहजताका साथ लिनुपर्ने उनको भनाइ थियो । निर्वाचनलाई व्यवस्थित र शान्तिपूवर्क सम्पन्न गराउन सहयोग गर्ने मतदाता, उम्मेदवार, राजनीतिक दल, निर्वाचन आयोग, प्रशासन, सुरक्षाकर्मी सबैलाई उनले धन्यवाद दिए । उनले आफू प्रतिनिधिसभामा नभए पनि यस क्षेत्रका विकासका लागि निरन्तर अगाडि बढ्ने बताए ।रुपन्देहीको विकासका लागि आफू निरन्तर लागिपर्ने उनको भनाइ थियो ।

नेपालमा रात्रीकालिन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवद्र्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको उनले बताए । उनले अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न पाइने बताए । उनले रुपन्देहीमा हालसम्म १० वटा रेष्टुरेण्टले २४ घण्टा व्यवसाय सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको बताए । ‘राती १२ बजेसम्म पसल सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदैन, उनले भने, आर्थिक गतिशिलतालाई मध्यनजर गर्दै १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनका लागि सरकार लचिलो छ । ’ उनले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकार अघि बढ्ने बताए । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगको विकास आवश्यक रहेकोमा जोड दिए । उनले उद्योगी व्यवसायीले आन्दोलन नभइ उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्याबारे सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रको समस्या समाधानका लागि राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अबको समय आर्थिक विकासको समय भएको बताए । उनले सरकारसँगै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष शर्माले मण्डप/प्रदर्शनीस्थल आवश्यक रहेकोमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आगामी बन्ने सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताए । उनले उपयुक्त प्रदर्शनीस्थलको अभावका कारण मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामा रकम खर्चिनुपरेको बताए । उनले निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा अपार सम्भावना देखेर निजी क्षेत्रले खरबौं लगानी गरे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा लगानी धरापमा परेको छ, छिटो भन्दा छिटो विश्वभरी सिधा उडानका लागि आवश्यक कदम चाल्नुपर्छ । सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।’

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले चर्को बैंक ब्याजदरका कारण निजी क्षेत्र समस्यामा परेको बताए । उनले विभिन्न उद्योग बन्द भएको बताए ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी प्रमुख शान्ति सुवेदीले दैनिक जीवनमा अध्यात्मवाद आवश्यक रहेको बताइन् ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले सरकारले उद्योगी व्यवसायीको समस्या गम्भिरतापूर्वक लिनुपर्ने बताए । उनले भैरहवा मण्डप राजनीतिक दलको चुनावी एजेण्डा बने पनि हालसम्म निर्माण हुन नसकेको बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आगामी पुस ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सह-आयोजकमा सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष तथा प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौं र पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेका छन् । महोत्सवमा २५० वटा स्टल रहेका छन् ।