२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल

शुक्रवार , पौष ३, २०७७

काठमाडौं, ३ पुस ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।  

‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं,  अर्थमन्त्री पौडेलले भने भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात  गर्नका लागि तयारी भइरहेको जानकारी दिए । 

उनले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए । 

उनले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान  बनाउन सरकार लागिपरेको बताए । ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ’, उनले भने ।