
आइतवार , मंसिर ११, २०७९
भैरहवा, ११ मंसिर ।
पशुपति कलेज रुपन्देहीले भूपू विद्यार्थी भेला, रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । शनिबार क्याम्पस परिसरमा कलेजको स्थापना २०६२ सालका विद्यार्थीहरुको भेला गरी कलेजलाई शैक्षिक उन्नति गर्नको लागि भूपू विद्यार्थी धुव्र भण्डारीको अध्यक्षतामा समिति गठन गरेको छ ।
कलेजलाई शैक्षिक गतिविधिमा अब्बल राख्नको लागि भूपू विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकोले भेलाको आयोजना गरिएको सञ्चालक समितिका अध्यक्ष टिबी रानाले बताए । क्याम्पसलाई अगाडि बढाउने कार्यमा प्रशासन र भूपू विद्यार्थी सहितको टिम कोषेढुंगा सावित हुने अध्यक्ष रानाले जोड दिए ।
कलेजको १७ वार्षिकोत्सवको पूर्व संध्यामा कलेजको स्नातक तह प्रथम वर्षदेखि चौथो वर्षमा अध्ययनरत विद्यार्थीमध्ये ८० जनालाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सहायक क्याम्पस प्रमुख जितबहादुर राजकोटीले बताए ।
क्याम्पसको वार्षिकोत्सवको अवसरमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकबाट १५ युनिट रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको शिक्षा संकाय प्रमुख नारायण ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij