२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

भैरहवामा अन्तर्राष्ट्रिय विद्यालय विकास कार्यशाला

शुक्रवार , मंसिर ९, २०७९

भैरहवा, ९ मंसिर ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको भैरहवामा बिहीबार एकदिवसीय अन्तर्राष्ट्रिय विद्यालय विकास कार्यशाला सम्पन्न भएको छ । सिद्धार्थनगर आसपासमा रहेका विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, व्यवस्थापक, शिक्षकशिक्षिका गरी ५२ जनाको सहभागीता रहेको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए । ‘आवर स्कूल : गार्डेनस् अफ द न्यू गूड लाइफ भन्ने नाराका साथ एजुकेशनल डेभलपमेन्ट इनिसियटिभ नेपाल (एडिन), काठमाडौंको सहयोगमा कार्यक्रम गरिएको मल्लिकले जानकारी दिए । उनले भने, ‘नयाँ अवधारणाअनुसार विद्यार्थीहरुलाई पढाउन सकियो भने विद्यार्थीहरुलाई पढ्न झन सजिलो हुन्छ, शिक्षामा कसरी नयाँपन ल्याउने र विद्यालयमा पारिवारिक वातावरण अझ राम्रो कसरी बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रीत रहेको थियो । ’

कार्यक्रममा नैतिक शिक्षाका विषयमा राजकुमार गुरुङ, निजी विद्यालयको आवश्यकता र समस्याबारे विष्णु पन्थी र शिक्षामा अनुसन्धानबारे बलराम भट्टले प्रकाश पारेका थिए । उक्त बहसमा एडिनका विनोदबाबु ढकालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा अष्ट्रियाबाट आएका एजुकेशनल कन्सलटेन्ट बनार्ड पोसार्टले सहजीकरण गरेका थिए । 

कार्यक्रममा बोल्दै युनिभर्सल पब्लिक हाई स्कूलकी अध्यक्ष देवी गुरुङले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन कार्यक्रमले सहयोग गर्ने बताइन् । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न समेत सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘शिक्षा क्षेत्रलाई अगाडि बढाउन र विद्यालयलाई अझ राम्रो बनाउनेबारे कार्यशालामा सिक्न पायौं ।’

त्यस्तै एजुकेशनल डेभलपमेन्ट इनिसियटिभ नेपाल रुपन्देहीका अध्यक्ष हिक्मत दाहालले सामूहिक विद्यालय परिवार, रुपन्देहीसँग मिलेर धेरै काम गर्न र शिक्षामा आमूल परिवर्तन ल्याउन सकिने बताए ।

त्यसै गरी सुधिर गुरुङले सामूहिक विद्यालय परिवारले आयोजना गरेको कार्यक्रमले शिक्षा क्षेत्रमा सहयोग पुगेको बताए ।

सामूहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, उपाध्यक्ष युवराज पोख्रेलको स्वागत तथा सचिव सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।