२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

देवगाँव साना किसान सहकारीको २५ औं साधारणसभा सम्पन्न

मंगलवार , मंसिर ३०, २०७७

परासी, ३० मंसिर । 
देवगाँव साना किसान कृषि सहकारी संस्था लिमिटेड रामग्राम १७ बरारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हैदर अलि मोमिनको अध्यक्षता तथा प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यतामा संस्थाको २५ औं साधारणसभा तथा रजत जयन्ती एक भव्य समारोहकाबीच सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष हैदर अलि मोमिनले वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रमहरु प्रस्तुत गरेका थिए । हाल संस्थामा १ हजार २२ जना सेयर सदस्य रहेका छन् भने ७२५ जना महिला र २९७ जना पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ४ करोड ३३ लाख २६ हजार ३०१ रुपैयाको आर्थिक कारोबार गरेको छ जसमा आम्दानी तर्फबाट १ करोड ३२ लाख ८६ हजार ४४० रुपैयाँ रहेको छ भने खर्चतर्फ १ करोड २२ लाख १८ हजार २०९ रुपैयाँ खर्च भएको र शुद्ध मुनाफा १० लाख ६८ हजार २३१ रुपैयाँ रहेको अध्यक्ष मोमिनद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थामा कुल निपेक्ष रकम २ करोड १४ लाख ४९ हजार ९२८ रुपैयाँ रहेको छ भने संस्थाले विभिन्न क्षेत्रमा ३ करोड २८ लाख ६५ हजा ३० रुपैया लगानी गरेको अध्यक्ष मोमिनले जानकारी दिए । उनका अनुसार ५२ लाख ५५ हजार १६२ रुपैयाँ कोष रकम रहेको छ । त्यस्तै संस्थाले चालु आर्थिक बर्षमा ७ करोड २५ लाख ७५ हजार ५५५ रुपैयाँको आर्थिक कारोबार गर्ने र उक्त कारोबारबाट १५ लाख ३४ हजार ४२७ रुपैयाँ शुद्ध मुनाफा गर्ने संस्थाको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वि.सं. २०५५ सालमा दर्ता भएको उक्त संस्थाले रेमिटान्स सेवा, विद्युत महसुल, खानेपानी महसुल, फोटोकपी, रिचार्ज र ग्यास विक्री समेतको कार्य गरी आफनो कार्यक्षेत्रका जनताहरुलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष मोमिनले जानकारी दिए । अध्यक्ष मोमिनले भने, ‘संस्थाले आगामी दिनमा लागनी र सेवाका क्षेत्र विस्तार गर्ने र विभिन्न सिपमुलक तालिमहरु पनि संचालन गर्ने लक्ष्य छ ।’  

साधारणसभामा जेष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै विपन्न शेयर सदस्य, संस्थागत सदस्य, उत्कृष्ट शेयर सदस्यहरुलाई दोसल्ला पनि सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो भने सो क्षेत्रमा कृषिमा राम्रो उदाहरणीय कार्य गरेका शेयर सदस्य किसानहरुलाई नगद १ हजार पुरस्कार समेत वितरण गरिएको थियो ।
संस्थाको रजत जयन्ती र २५ आें सभाको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो भने वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो । सभामा उपस्थित अथितिहरुले वृक्षारोपण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, विशिष्ट अतिथि रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवर, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, कृषि ज्ञान केन्द्र प्रमुख देवेश कुमार मिश्रा, कृषि विकास बैंक परासी शाखा प्रबन्धक खुर्सेद आलम, रामग्राम नगरपालिका १७ वडा अध्यक्ष जित बहादुर गोसाई, संस्थाका व्यवस्थापक निरमाया चौधरी, लेखा संयोजक अर्जुन चौधरी लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै यसले गरेको कार्यको प्रशंसा गरेका थिए ।