
उत्कृष्ट प्रदर्शनीका रुपमा आयोजना गर्न सुझाव
शनिवार , कार्तिक २६, २०७९
बुटवल, २६ कात्तिक ।
बुटवलमा हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको सिलसिलमा रुपन्देही उद्योग संघको एक टोलीले विभिन्न प्रदेशको भ्रमण सम्पन्न गरेको छ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा गर्न लागेको प्रदर्शनीमा स्टल दर्ता अभियान कार्यक्रम अन्र्तगत भएको भ्रमणका क्रममा ४ प्रदेशका प्रमुख उद्योग प्रतिष्ठान र उद्योगीहरुसँग अन्तरक्रिया गरेर संघका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोली बुटवल फर्केको हो ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मुल नाराका साथ आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा सञ्चालन हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको क्रममा पौडेलको नेतृत्वमा गएको टोलीले लुम्बिनी, वागमती, मधेश तथा गण्डकी प्रदेशमा रहेका प्रतिष्ठित उद्योग प्रतिष्ठान तथा उद्योग व्यवसायी संघ–संस्थाहरुसँग भेटघाट एवं छलफल गरेको थियो । प्रर्दशनीको कामलाई निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढाइएको छ ।
त्यसैक्रममा प्रदर्शनीमा सहभागी हुने उद्योग प्रतिष्ठानहरुका सञ्चालकहरुसँग प्रत्यक्ष भेट गरी आवश्यक सुझाव तथा अन्तरक्रिया गर्ने उद्देश्यले भ्रमणको कार्यक्रम तय गरिएको संयोजक माधव प्रसाद पौडेलले बताए । राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रर्दशनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीलाई आर्कषक तथा व्यवस्थित बनाउने लक्ष्यसहित कामलाई अगाडि बढाएको बताउँदै संयोजक पौडेलले भ्रमणबाट आफू उत्साहित बनेको प्रतिक्रिया दिए । उनकाअनुसार भ्रमणका क्रममा प्रदर्शनीमा नयाँ र नेपालका प्रतिष्ठित उद्योग उत्पादनहरु सहभागीता हुने सुनिश्चित भएको र प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ताका बीचमा पुर्याउन पुलको काम गर्ने कुरामा उद्योगीहरु उत्साहित एवं विश्वस्त देखिएका थिए ।
स्टल सहभागीताका लागि आयोजना गरिएको ४ दिने भ्रमणका क्रममा टोलीले चितवनको नाराणगढमा चितवन उद्योग संघका पदाधिकारी तथा उद्योगीहरुसँग, हेटौडामा मकवानपुर उद्योग संघ, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसहित उद्योगीहरु, बारा र सिमरामा रहेका उद्योग प्रतिष्ठान तथा पोखरामा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योगीहरुसँग सामुहिक तथा छुट्टाछुटै भेटघाट तथा अन्तरक्रिया गरिएको स्टल दर्ता उपसमितिका संयोजक एव मुल समितिका सह–संयोजक दिलिप सापकोटाले जानकारी दिए । त्यसक्रममा उद्योगीहरुले आर्थिक क्षेत्रमा देखा परेको संकट र त्यसको निराकरणका लागि स्वदेशी उत्पादनको प्रर्वद्धन नै पहिलो कदम भएको बताउदै प्रदर्शनीको आयोजनाले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका थिए । सबै क्षेत्रका उद्योगी तथा संस्थागत प्रतिनिधिहरुले बुटवलमा आयोजना हुने प्रदर्शनी उत्कृष्ट प्रदर्शनीका रुपमा परिचित रहेको उल्लेख गर्दै यस पटकको आयोजना थप उत्कृष्ट बनाउन शुभकामना दिदै सहभागिता जनाउने प्रतिवद्धता जाहेर समेत गरेको सापकोटाले बताए ।
भ्रमण टोलीमा सहभागी संघका कोषाध्यक्ष हिरामणी भट्टराईले छलफलका क्रममा प्रदर्शनी आयोजनाका लागि महत्वपूर्ण पाटोका रुपमा रहेको आर्थिकलाई मजबुत बनाउन प्रतिष्ठित उद्योग प्रतिष्ठानहरुको सहभागीताले भूमिका खेल्ने हुँदा त्यसमा संघले विशेष ध्यान दिएको बताउँदै प्रदर्शनीलाई आकर्षक र नयाँ व्यवस्थापन गर्न आर्थिक क्षेत्रबाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका थिए ।
भ्रमणका क्रममा हेटौडामा आयोजित भेटघाटमा मकवानपुर उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, पूर्वअध्यक्ष माधव अधिकारी, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारी लगायत बोलेका थिए । त्यसै गरी चितवनमा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, वरिष्ठ उपाध्यक्ष सुर्य न्यौपाने, पोखरामा भएको कार्यक्रममा पोखरा उद्योग संघका अध्यक्ष सुरेश बहादुर श्रेष्ठ, सचिव बलराम बराल र सदस्य झलकनाथ आचार्य, सल्लाहकार चन्द्र बहादुर राजभण्डारी लगायतले बोलेका थिए ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत्पश्चात् निरन्तर सफल रुपमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको र यस पटक थप आर्कषक बनाउने कुरा भ्रमणका क्रममा उद्योगीहरुमाझ प्रतिवद्धता जनाउँदै सहयोगको लागि आग्रह गरिएको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए ।
बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलोपटक आयोजना गर्न लागिएको प्रर्दशनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टाछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ । आयोजनालाई सफल तुल्याउन र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ । करिब ४ सय स्टल सहभागीता रहने प्रदर्शनीमा स्टल दर्ताको काम भइरहेको र हालसम्म १ सय भन्दा बढी उद्योगहरु दर्ता भएको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij