
शनिवार , कार्तिक २६, २०७९
बुटवल, २६ कात्तिक ।
रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवल क्षेत्रका मतदातासमक्ष आफ्ना प्रतिवद्धता लिएर पुगेका छन् ।
बुटवलको मुख्य बजार अमरपथ, राम मन्दिरलाइन, हाटबजार, नेपालगन्ज रोड लगायतमा व्यापारिक क्षेत्रमा रहेका व्यापारीसमक्ष श्रेष्ठले पछिल्लो समयमा उनीहरुले भोग्नुपरेका समस्याका विषयमा चासो दिएर सुझाव लिएका छन् । व्यापारीको समस्याबारे जानकार भएको बताउँदै श्रेष्ठले गठबन्धन सरकारको कारण भएको मूल्यबृद्धि, राष्ट्रहितविरुद्ध भएका गतिविधि र गलत बजेट नीतिका कारण व्यवसायी मर्कामा परेको बताएका थिए । उनले सरकारको यस्तो नीतिले राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश र दलाललाई पोस्ने कर तिर्ने लाई सेक्ने काम भएकाले सचेत नागरिकले अब चुप लागेर बस्न नहुने बताएका थिए ।
आर्थिक हिसाबले बुटवल केन्द्रको रुपमा स्थापित भइसकेको र प्रदेश राजधानी सारेर बुटवललाई ठूलो क्षति भएको उनले बताए र भने–‘ राजधानी जहाँ गएको छ, त्यो कुनै अमिट छैन, ढुङ्गामा लेखिएको दस्तावेज होइन, जनताको माग र आवश्यकताअनुसार, सबै हिसाबले केन्द्र हुने ठाउँ आउने हो, बुटवलमा ल्याउन हिजो सदन र सडकमा नेतृत्व गरेको हुँ र आज पनि आफू सोही पक्षमा रहेको रहेको छु’– श्रेष्ठले भने ।
बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगरप्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरुलाई मूल्यांकन गर्दै अहिले गरेका प्रतिवद्धता हेरिदिन आग्रह नेता श्रेष्ठले गरे ।
यसैबीच बुटवल ८ को युवा भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आजका युवा भोलीको राष्ट्र निर्माता भएको बताउँदै सचेत युवा राष्ट्र र राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने बताए ।
अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा विशेष गरी युवामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij