२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

९८३ हरित स्वयंसेवक नियुक्त, परिचालनमा १२ करोड लगानी

शुक्रवार , मंसिर २६, २०७७

भैरहवा, २६ मंसिर ।
लुम्बिनी प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९ सय ८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण हुनेछ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउँदै, कृषि तथा पशु सेवा प्रवाहलाई स्थानीयस्तरमा पुर्याउन कार्यक्रमले सहयोग मिल्ने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. परवेज आलमले बताए ।
नियुक्त भएका स्वयम्सेवकले कृषि फार्म वा व्यवसाय सञ्चालन गरि नमुना कृषि उद्यमीको रुपमा आफ्नो पहिचान बनाउनुपर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वरिष्ठ पशु सेवा अधिकृत डा. प्रदिप पौडेलले बताए । 

तालिममा सिकेका प्राविधिक ज्ञान आफ्नो क्षेत्रका किसानलाई सिकाउने तथा किसानलाई आवश्यक पर्ने उत्पादन सामग्रीको माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने देवदह नगरपालिकाका हरित स्वयंसेवक त्रिलोभन दाहालले बताए ।

प्रदेशमा रहेका १२ जिल्लाका ९ सय ८३ वडाबाट एक/एक जना स्वयंसेवक छनोट गरिएको हो । ३५ वटा वडाबाट कसैको आवेदन नआएकाले पुन मागिएको मन्त्रालयले जनाएको छ । छनौट भएका स्वयंसेवकलाई कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रहरुले उनीहरुले गर्ने काम र कर्तब्यबारे सिकाएका छन् ।

भैरहवामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रुपन्देहीका ५१ जना हरित स्वयंसेवकसंग सम्झौता गरी काममा खटाएको छ । हरित स्वयंसेवकले मासिक वा वार्षिक रुपमा तलब भत्ता पाउने छैनन् तर कृषि उद्यमी बन्नको लागि पहिलो वर्ष ५० हजार दोस्रो वर्ष ४० हजार र तेस्रो वर्ष ३० हजार रकम पाउनेछन् । कार्यक्रमका लागि तीन वर्षमा करिब १२ करोड रकम खर्च हुनेछ ।