
मंगलवार , कार्तिक ८, २०७९
भैरहवा, ८ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरु रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गठबन्धनले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए । ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन’, गृहमन्त्री खाँणले भने, ‘चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुु बाहकको साथै कार्गो सेन्टरको रुपमा बिकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । ‘खाली यात्रुु ल्याउने लैजाने मात्र होइन्,’ गृहमन्त्री खाँणले भने, ‘गौतमबुद्ध बिमानस्थललाई कार्गो सेन्टरको रुपमा पनि विकसित गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउनेछ ।’
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो खालको थोक बजार केन्द्र निर्माण योजना पनि रुपन्देहीको सेमलारमा आएको उनले बताए । उक्त थोक बजार निर्माण पश्चात यसक्षेत्रमा उत्पादित कृषिजन्य वस्तुु गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात गर्न सकिने पनि उनले जनाए । खाँणले विदेशबाट हवाईमार्ग हुँदै ल्याउनुु पर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउन वातावरण सिर्जना हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सन्तोष कुमार पाण्डेयले जनभावनाअनुसार विकास र समृद्धि ल्याउन गठबन्धन जरुरी रहेको जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij