
आइतवार , कार्तिक ६, २०७९
भैरहवा, ६ कात्तिक ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आगामी मंसिर २३ गतदेखि पुस ४ गतेसम्म हुने भएको छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि महोत्सव सम्पादन समितिको बैठकले विभिन्न निर्णय गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डेले जानकारी दिए । भैरहवाको अञ्चलपुरस्थित सिद्धार्थ उधोग वाणिज्य संघका सल्लाहकार तथा उद्योगी सीताराम उप्रेतीको निजी जग्गामा महोत्सव आयोजना गरिने पाण्डेले बताए । उक्त स्थानमा यसअघि पनि मेला महोत्सव सम्पन्न भएका छन् ।
भैरहवामा मेला महोत्सवका निम्ति स्थानको अभाव छ । यसमा राज्यको ध्यान पुग्न नसकेकोले मेला महोत्सवको आयोजनामा धरै कठिनाइ भएको संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।
सम्पादन समितिको बैठकले पारिवारिक प्रवेश टिकटको व्यवस्था गर्ने निर्णय गरेको छ । पारिवारिक प्रवेश टिकट सामान्य प्रवेश टिकट भन्दा कम मुल्यको हुनेछ । सामान्य टिकट मुल्य रु. ५० कायम गरेको छ । तिहारको लगतै पत्रकार सम्मेलन गरी प्रचार प्रसारलाइ तीव्र बनाउने निर्णय भएको प्रचार प्रसार समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।
मेला सञ्चालन गर्न ३२ वटा विभिन्न समितिहरुलाई सक्रिय बनाउने साथै संघका सम्पूर्ण शुभेच्छुक, सहयोगी तथा सदस्यहरुलाई महोत्सव सफल बनाउनका निम्ति तिहार पश्चात भेलाको आयोजना गरी सुझाव संकलन गर्ने समेत निर्णय भएको महासचिव विजय पाण्डेले जानकारी दिए । शनिबार भएको बैठकमा संघका पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो । यो महोत्सव सिद्धार्थ उद्योग वाणिज्य संघले आठौं पटक आयोजना गर्दैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij