
बिहिवार , कार्तिक ३, २०७९
भैरहवा, ३ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज वृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज वृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले बिहीबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पाँचदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल ब्याज वृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । ‘ब्याज वृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक सञ्चालकको ध्यान जान जरुरी छ’, उनले भने ।
मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाँणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिए । ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज वृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज वृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’
उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रबद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको बताउँदै गृहमन्त्री खाँणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’
गृहमन्त्री खाँणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताए । ‘हामीले मौद्रिक नीतिलाई सुधार मात्रै होइन्, परिमार्जन गर्नेछौं, आवश्यक परे संशोधन पनि गर्नेछौं’, उनले भने, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी–व्यवसायीलाई यो सरकार तपाईंहरुको पक्षमा छ, तपाईंहरुको समस्यालाई हल गर्न तयार भन्न चाहन्छु ।’
क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले संविधान, संघीयता र गणतन्त्रमाथि प्रहार गर्ने शक्तिहरुलाई उठ्नै नसक्ने गरी दण्डित गर्नुपर्ने जनाए । ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन र नेपाली काँग्रेसले जित्नु जरुरी छ’, उनले भने, ‘यदी गठबन्धनले हार्यो भने लोकतन्त्र र संविधान नै धरापमा पर्नेछ ।’
गुप्ता काँग्रेसमा प्रवेश
रुपन्देहीको तत्कालीन मैनहिया गाउँ विकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रंगनाथ गुप्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । रुपन्देही–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सियारी गाउँपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रममा पूर्व गाउँ विकास समिति अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीका स्वागत गरे ।
गुप्ता २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष निर्वाचित भएका थिए । गत स्थानीय तह निर्वाचनमा गुप्ता लोसपाबाट उम्मेदवार थिए । यस्तै, कार्यक्रममा युवा व्यवसायी मोहित रौनियारसहित एक सय बढी स्थानीय विभिन्न पार्टी परित्याग री नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाँणले पार्टी सदस्यता प्रदान गरेका हुन् । पूर्व गाविस अध्यक्ष गुप्ताले पार्टीको विचार र सिद्धान्त मन परेकाले काँग्रेस प्रवेश गरेको जनाए । उनले रुपन्देहीको विकासका लागि गृहमन्त्री खाँणले जित्नैपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij