२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

भैरहवाको विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

बुधवार , कार्तिक २, २०७९

भैरहवा, २ कात्तिक ।
भैरहवाका उद्योगी व्यवसायीहरूले रुपन्देही र विशेष गरी भैरहवा क्षेत्रको विकासका लागि केन्द्रमा बलियो पकड भएको व्यक्तिले आगामी निर्वाचन जित्नुपर्ने बताएका छन् । भैरहवामा भएको छलफलमा उद्योगी व्यवसायीहरूले व्यापार व्यवसाय र उद्योगको अस्तित्व बचाउन बेलैमा ध्यान पुर्याउनुपर्ने बताएका छन् । अबको निर्वाचनमा पार्टीले के भन्छ होइन, कसलाई जिताउँदा आफ्नो भविष्य के हुन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने व्यवसायीहरूको भनाइ थियो । 

रुपन्देही-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, प्रदेशसभा रुपन्देही क्षेत्र नम्बर ३ (क)का उम्मेदवार सन्तोष कुमार पाण्डेय पनि सहभागी छलफलमा उद्योगी व्यवसायीहरूले आफूहरूलाई भविष्यमा उद्योग व्यवसाय चलाउन जसलाई जिताउँदा सहज हुन्छ, त्यसलाई जिताउनुपर्ने बताए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पुर्याउने निर्णय लिने बेला आएको बताए । ‘आफ्नो उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पुर्याउने, निर्णय लिने निर्वाचनमा हो,’ प्रदेश अध्यक्ष शर्माले भने, ‘अस्तित्व बचाउन ध्यान पुर्याउनुपर्ने बेला यही हो ।’

उद्योगी नारायण प्रसाद अग्रवालले यस क्षेत्रको विकासका लागि लागि परेका नेता बालकृष्ण खाणलाई उम्मेद्वार पाउँदा आफूहरू आशावादी भएको बताए । 

व्यवसायीहरूले उद्योग व्यवसाय फस्टाउने र मुलुकको विकासका लागि आफूहरूले योगदान दिन सक्ने वातावरणको निर्माण गर्न केन्द्रमा सरकार निर्माण गर्न सक्ने पार्टी र मन्त्री बन्न सक्ने उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताएका थिए । 

व्यवसायीहरूले सीमा भएको जिल्ला भएकाले चोरीका सामान आएकाले आफूहरूलाई व्यवसाय धान्न गाह्रो भएको, उद्योगले उत्पादन गरेको सामान अन्य मुलुकमा निर्यात गरेवापत पाउने छुटमा कटौति गरिएको, अन्तर्राष्ट्रिय विमानस्थलमा आउने फ्लाइमा कमि आएकोले यी विषयमा ध्यान दिन गृहमन्त्री खाँणलाई आग्रह गरेका थिए । 

गृहमन्त्री खाँणले आफूले यस क्षेत्रको विकास र उद्योग व्यवसायलाई फस्टाउने वातावरण निर्माण गर्न प्रयास गर्ने बताए । उनले व्यवसाय फस्टाएमा मात्रै राज्यलाई उद्योगले कर तिर्ने र त्यो करले राज्य सञ्चालनमा सहज हुने बताए । उनले तीनै तहका स्थानीय तहको निर्वाचनका आधारमा कांग्रेस पहिलो पार्टी भएको र मंसिर ४ गने हुने प्रदेश सभा र प्रतिनिधि सभामा बहुमत आएर प्रदेश र केन्द्रमा सरकार निर्माण गर्ने अवस्था निर्माण भएमा अहिले उद्योगी व्यवसायीले भोग्नु परिरहेका समस्या भोग्न नपर्ने बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।