२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासीका घर टहरा भत्काउन हुन्न : गृहमन्त्री खाँण

मंगलवार , कार्तिक १, २०७९

रुपन्देही, १ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बएका छन् । रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने बताए ।

उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नु पर्ने बताए । अहिले मुलुकभरका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको  हो ।

उनले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए । गृहमन्त्री खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको औचित्य नभएको बताए ।

बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उनले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाइजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने बताए ।