
सोमवार , आश्विन ३१, २०७९
भैरहवा। अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले आफ्ना उत्पादनलाई भारत निर्यात सुरु गरेको छ । उद्योगले सोमबार एक कार्यक्रमकाबीच उद्योगबाट उत्पादित सिमेन्ट छिमेकी मुलुक भारतमा निर्यात शुभारम्भ गरेको हो ।
पहिलो लटमा उद्योगले भारतको आनन्दनगर र नौतनवामा दुई बटा ट्रकमा २ हजार बोरा सिमेन्ट निर्यात गरेको हो । भारतको उत्तर प्रदेशका सुभान्सु एसमेसियटले दुई हजार बोरा सिमेन्ट खरिद गरेको हो ।
सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधी ल्याएपछि कम्पनीले सिमेन्ट निर्यात सुरु गरेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुभयो । सिमेन्ट नेपाल भारत सिमा नाका बेलहिया हुदै भारत निर्यात गरिएको छ । भारतिय बजारको मागका आधारमा निर्यातलाई तिव्रता दिईने प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।
सरकारको नीतिका कारण सिमेन्ट निर्यात सहज भएको उद्योगका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए । उनले सरकारकाे नीति अनुसारका अन्य काम पटाफट भए अझै सहज हुने बताए । सरकारको नीति सहज भए नेपालको व्यापार घाटा कम हुदै जाने बताउनु भयो । उनले आफुहरुको लामो समय देखिको प्रयासले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डड्र्स इन्स्टिच्युट (आइएसआइ) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु गरेको हो । भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ ।
सरकारले असोज ७ गते निर्यात अनुदान सम्बन्धी कार्यविधी संसोधन गर्दै वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी निर्यात गर्ने संस्थालाई ८ प्रतिशत सम्म नगद अनुदान दिने घोषणा गरेको छ । चालु आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायतका बस्तुमा सरकारले नगद अनुदान दिने घोषणा गरिएको थियो ।
कम्पनीले भारतबाट असोज पहिलो साता आइएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न शुरु गरेको कम्पनीका नायव महाप्रबन्धक कृष्ण पाण्डेले जानकारी दिए । ‘कम्पनीले लामोसमय देखि भारतीय बजारमा सिमेन्ट निर्यात गर्ने विषयमा अध्ययन गरिरहेको थियो’ पाण्डेले भने, ‘सोमबारबाट भारत निर्यात सुरु भएको छ । आगामी दिनमा बजारको माग अनुसार कम्पनीले नियमित रुपमा सिमेन्ट निर्यात गर्छ ।’
क्लिङ्कर समेत उत्पादन गर्ने अर्घाखाँचीको दैनिक २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । यस अघि पाल्पा सिमेन्टले पहिलो पटक सिमेन्टलाई भारत निर्यात गर्न शुरु गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij