
आइतवार , आश्विन ३०, २०७९
भैरहवा, ३० असोज ।
उद्योगी व्यवसायीले चर्को बैंक ब्याजदरले उद्योग व्यवसाय सञ्चालनमा समस्या बढाएको गुनासो गरेका छन् । उनीहरुले बैंकले ब्याजदर वृद्धि गर्दा पनि सरकारले त्यसप्रति ध्यान दिन नसकेको गुनासो गरेका हुन् । उद्योग व्यापार संगठन रुपन्देहीको शनिबार भैरहवामा भएको १५ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगी व्यवसायीले चर्को ब्याजदरले आफूहरु मर्कामा परेको बताएका छन् । ऋण लिएका उद्योगी व्यवसायीको अवस्था दयनीय भएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुन नहुने बताए । उनले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने माग गरे । अध्यक्ष मल्लले भने, ‘बैंक धनी हुने र उद्योग व्यवसाय धरासायी हुने परिस्थिति हुनु गलत हो, उद्योग व्यवसाय पलायन भए बैंक पनि पलायन हुन सक्छ ।’ उनले जनताले तिरेको करबाट मुलुक चलेकाले सरकारले नागरिकको आवाज सुन्नुपर्ने बताए । मुलुकलाई कसरी आत्मनिर्भर बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्थानीय प्रशासन निजी क्षेत्रको साथमा रहेको बताए । उनले खुल्ला सीमाका कारण हुन सक्ने अवैध कारोबार नियन्त्रण गर्न लागिपरेको बताए । प्रजिअ पाण्डेले चोरी निकासी गरेर आउने सामान खरीद गर्न नहुने बताए । उनले भने, ‘चोरी निकासी निरुत्साहित गर्ने काम निजी क्षेत्रको हो, निजी क्षेत्रको सहयोग आवश्यक छ । ’ उपभोक्ताको हित संरक्षण गर्ने दायित्व निजी क्षेत्रको भएको प्रजिअ पाण्डेको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले उद्योग व्यवसाय टिक्ने वातावरण बनाउनुपर्ने माग गरे । उनले बैंक ब्याजदर निरन्तर वृद्धि हुँदा उद्योगी व्यवसायी संकटमा परेको गुनासो गरे ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रंजना पौडल पण्डितले आयात बढ्दै गएकाले व्यापार घाटा बढेको बताइन् । उनले भनिन्, ‘जुन उद्देश्यका लागि बैंकबाट ऋण लिनुभएको छ, सोही उद्देश्यमा प्रयोग नभए समस्या उत्पन्न हुन्छ । ’
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताए । उनले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको बताए ।
नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले गठबन्धन सरकार आएपछि मुलुकको आर्थिक अवस्था भयावह भएको बताए । उनले गठबन्धन सरकारका कारण मुलुकमा समस्या उत्पन्न भएको बताए ।
नेकपा (माओवादी कन्द्र) सिद्धार्थनगरका उपाध्यक्ष धु्रव लामगादेले कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको बताए । उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताइन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उद्योग व्यवसाय पलायन हुने खतरा रहेको बताए । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले असोज महिनाको ब्याज तिर्न नसकिने बताए । भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष ओमकार गौचनले सीमा नाकामा कडाइ हुनुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योगी व्यवसायीलाई आतंकित पारिएको बताए । उनले भने, ‘बैंक ब्याजदर कम गर्नुपर्छ ।’ उनले अनियमित विद्युत कटौतीले उद्योग व्यवसायी तथा नागरिक मारमा परेको बताए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नु परेको बताए । उनले बैंकहरुले कर्जाको ब्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत पु¥याएकाले उद्योगी व्यवसायी मारमा परेको गुनासो गरे ।
कार्यक्रममा संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव सचिन रोक्काले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राममिलन यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संगठनका अध्यक्ष ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत, उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आजीवन सदस्य राजेन्द्र कुमार गुप्ता, लक्ष्मी अधिकारी, विरेन्द्र ज्ञवाली, धनश्याम अधिकारी, यादव प्रसाद आचार्य र दुर्गा प्रसाद पराजुलीलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij