२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

होटल व्यवसायी भन्छन्,– ‘बैंकको सावा ब्याज तिर्न सक्दैनौ’

आइतवार , आश्विन ३०, २०७९

भैरहवा, ३० असोज  । 
भैरहवा, लुम्बिनी, तिलोत्तमा क्षेत्रमा रहेका सिद्धार्थ होटल संघमा आबद्ध होटल व्यवसायीहरुले बैंकलाई तिर्नुपर्ने ऋणको सावा र ब्याज यो असोज मसान्तसम्म तिर्न नसक्ने घोषणा गरेका छन् । कोरोनाका कारण व्यवसाय ध्वस्त भएको र सरकारले पुनरोत्थानको लागि प्रभावकारी नीति समेत नल्याएको कारण बैंकको सावा र ब्याज तिर्न नसक्ने व्यवसायीहरुले घोषणा गरेका छन् । 

सिद्धार्थ होटल संघ, नेपाल (सान) ले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी कर्जाको ब्याजदर घटाई १ अंकमा ल्याउनुपर्ने, थप राहतका कार्यक्रम पुर्नकर्जा कोषको समय वृद्धि (कम्तीमा ३ वर्ष) गरिनुपर्ने लगायतका माग गरेको छ ।
संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवा, लुम्बिनी र तिलोत्तमा क्षेत्रमा रहेका सिद्धार्थ होटल संघमा आबद्ध कुनै पनि होटल व्यवसायीले सावा ब्याज नतिर्ने बताए । उनले राज्यसँग बारम्बार बैंकको सावा किस्ता कम्तीमा २ वर्षपछि बुझाउने गरी समय पर धकेलिदिन माग गर्दै आएको बताए ।

उनले भने, ‘लामो बन्दका कारण धरासायी बनेको पर्यटन अन्र्तगतको होटल सेवा सबैभन्दा बढी प्रभावित र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । नोक्सानी बढिरहदा बैंकको सावा त के ब्याज तिर्न पनि नसक्ने अवस्थामा हामी छौं ।’ सरकारले व्यवसायको पुर्नउत्थानका लागि कुनै उपयुक्त कदम नचालेको उनले बताए । उनले भने, ‘हाम्रो आशय बैंक सावा ब्याज नबुझाउने भन्ने होइन, हामी सबै तिर्छाै तर हामीलाई केही समय दिनुहोस । तर राज्यले नसुनेझै गरेको छ भने बैंकहरुले सावा व्याज बुझाउन भन्दै दिनहुँ फोन गर्ने, मानिस पठाउने, ताकेता गर्ने, समयमा नबुझाए निलाम गछौं, पत्रिकामा तीनपुस्तेसहित छाप्छौ भन्दै धम्की आउने गरेको छ । हाम्रो माग सावा किस्ता बुझाउने समय पर धकेलिदिने हो । हामी कही भाग्दैनौ सबै दायित्व बुझाउँछौ ।’ सावा ब्याज नतिरे सरकार, बैंक जसले जे कारवाही गर्छ भोग्न तयार रहेको तर असोजको सावा ब्याज नबुझाउने श्रेष्ठले बताए । उनले सरकार र बैंकले कुनै कदम चाले त्यसको प्रतिकार गर्न र होटल व्यवसायीको चाबी सरकारलाई बुझाएर आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए । उनले भने, ‘कोरोना संक्रमणले गर्दा संकटग्रस्त होटल व्यवसाय यही अवस्थामा बैंक, फाइनान्स कम्पनी, विकास बैंकलाई असोजको पहिलो त्रैमासिक सावा ब्याज लगायतका कुनै दायित्व तिर्न नसकिने अवस्था रहेकाले वैकल्पिक उपाय अवलम्बन गर्नु आवश्यक छ । ’ बैंकले आउँदो असार मसान्तसम्मका लागि पुर्नतालिका ल्याउन समेत उनले आग्रह गरे । यो विषयमा सरोकारवालाको ध्यान नगए ५० अर्ब भन्दा बढीको लगानी रहेको यस क्षेत्र कुनै पनि बेला डुब्ने निश्चित रहेको उनले भनाइ छ । यो समस्या पहलका लागि तीनै तहको सरकारसँग उनले माग गरे ।

होटल व्यवसायी रामबहादुर कोइरीले होटल व्यवसाय संकटग्रस्त अवस्थाबाट गु्रजिरहँदा दिनहुँ नोक्सानी बढिरहेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रले कमाएर तिर्ने हो तर कमाउने बेलामा कोरोना संक्रमणले व्यवसाय ध्वस्त भयो, अहिले १० प्रतिशत औशतमा होटल व्यवसाय सञ्चालनमा छ ।’

लुम्बिनी क्षेत्रका होटल व्यवसायी अकरामुद्दीन खाँले लुम्बिनीमा अहिले पर्यटक नै नरहेको कारण यहाँका होटलहरुमा एक प्रतिशत पनि पर्यटकको बसाइ नरहेको बताए । कमाइ नै नभएको अवस्थामा कर्जाको सावा र ब्याज तिर्न कठिनाइ भइरहेको उनले बताए ।