२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

एफइसी र सहयोगी सहकारीको संयुक्त साधारणसभा

शनिवार , आश्विन २९, २०७९

तिलोत्तमा, २९ असोज ।
एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९ मंगलापुर, रुपन्देहीको २७ औं साधारणसभा एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था रुरु क्षेत्र–४ बलेटक्सार गुल्मीसँगको संयुक्त साधारणसभा शनिबार सम्पन्न भएको छ । दुई संस्थाबीचको एकीकरणपश्चात संयुक्त साधारणसभा गरिएको हो । एकीकृत सहकारीको नाम एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था रहेको छ भने संस्थाको अध्यक्षमा तारानाथ कंडेल रहेका छन् भने गुल्मी क्षेत्र संयोजकमा कमलप्रसाद श्रेष्ठ रहेका छन् । सहकारीको एकीकृत कारोबार समेत सुरु भइसकेको अध्यक्ष कंडेलले जानकारी दिए ।

साधारणसभाको उदघाटन संस्थाका जेष्ठ सदस्य देवेन्द्रदत्त पौडेलले गरेका थिए । एफइसीका अध्यक्ष तारानाथ कंडेल तथा सहयोगी सहकारीका अध्यक्ष कमलप्रसाद श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जेष्ठ सदस्य पौडेलले दुई संस्था एकीकरणले सहकारीको आर्थिक अवस्था थप सुदृढ र बलियो भएको बताए ।

एकीकरणपछि संस्थाको शेयर पुँजी ८ करोड ६७ लाख ७० हजार रुपैयाँ रहेको छ भने संंस्थागत कोष २ करोड २३ लाख ८६ हजार ४०४ रुपियाँ रहेको छ । त्यस्तै सहकारीको कुल बचत तथा निक्षेप ५१ करोड ६ लाख ८५ हजार ६९ रहेको छ भने कर्जा लगानी ६० करोड १६ हजार १४७ रहेको छ । सहकारीले २०७९ असार मसान्तसम्म दुई करोड ३६ लाख ३३ हजार ९०८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

साधारणसभामा अध्यक्ष तारानाथ कंडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव निरज कंडेलले सांगठनिक तथा कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका अवसरमा भारत–नेपाल मैत्री वर्ष २०२२/२०७९ को लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त शेयर सदस्य शिवलाल ज्ञवाली, शैक्षिक प्रमाणपत्रका आधारमा स्नातकोत्तर उपाधि प्राप्त शैलेष ज्ञवाली, प्रतिष्मा पाण्डे, विजय भण्डारी, कमलप्रसाद भट्टराई, इन्दु आचार्य, भरतमणि बन्जाडे, कर्मचारीको तर्फबाट सुनिता भुर्तेल, रमा क्षेत्री लगायतलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, शेयर सदस्य एवं साना किसान कृषि सहकारीका अध्यक्ष झुपा न्यौपाने, संस्थाका गुल्मी संयोजक कमलप्रसाद श्रेष्ठ, मर्जर तथा शिक्षा उपसमिति संयोजक डा.ऋषिराम शर्मा, शेयर सदस्य तथा शिक्षा उपसमिति सदस्य हरिप्रसाद ज्ञवाली, सम्मानित व्यक्तिको तर्फबाट शिवलाल ज्ञवाली, शैलेश ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।