निर्वाचन जति जति नजिक आउदैछ, उति उति मेरो कन्पारो पनि तातिएको तातिएकै छ । कन्पारो त तावा होइन, यहाँ आगो लाग्ने वा लगाउने ठाउँ पनि छैन । विपक्षि पार्टीहरुको पहुँच ‘मुसटुण्डे’ हरुलाई नलगाई यहाँसम्म पुग्न गारो छ, तै पनि मेरो कन्पारा तातेको तातै छ । यसको कारण र निवारण नगरि हुँदै भएन के गर्ने होला ? निर्वाचन तालिका प्रकाशन पछि यसको तापक्रम बढेको बढै छ, जति कोशिस गरेपनि कम हुने नामै लिन्न ।
मानिसहरु ठूलो समस्यामा परेपछि कन्पारा तात्छ वा सेलाउँछ । पुरै सेलायो भने त कि स्वर्ग कि नर्क को बास हुन्छ भन्छन् मानिसहरु तर ऐले तातेको कन्पारा सेलाउन निर्वाचन नतिजासम्म कुर्नु पर्दछ भनेर एकजना निर्वाचन डाक्टरले भनेको सुन्दा चाँही मलाई ‘हो की ?’ जस्तो लागेको छ । भरखर स्थानिय तहको निर्वाचन विचित्र चित्र देखेका व्यक्तिले भने आफ्नै पार्टीका मुसटुण्डेहरुले कन्पारामा कसिलो मुक्का प्रहार गरेछन् कति औषधि गरे अस्पताल बसे, तर उनको कन्पारो कहीं कतै शान्त भएन । घाउहरु निको भयो, दाग सम्म पनि हरायो तर जब पुरानो यादले सताउँछ कन्पारो तात्छ । उनको कन्पारो तात्ने र बेलाबेला सेलाउने गरेको छ भनेको सुनेको खुशी लाग्यो । यो तात्ने र सेलाउने नेपाली राजनीतिको सुन्दर पक्ष पनि हो । पाँच छ दिन अघि गृहमन्त्रीलाई भेटे पछि उनको कन्पारो शान्त भएको खबर हिजो मात्र मकालु स्टेश्नरीका भार्य राजेन्द्र पोख्रेलले बताए ।
एकजना अनुभवी कन्पारा डाक्टरले भने, “हेर्नुहोस् कन्पारा पनि विभिन्न प्रकारका हुन्छन्, यही कन्पारोको कमालले ‘प्रचण्डजी’ लाई गोरखा पु¥यायो । यही कन्पाराले ‘बाबुराम’ ‘राम राम’ जप्दै छन्। अब कन्पाराहरुको प्रयोगले अखण्ड राज्य भोग गर्ने प्रचण्ड इच्छालाई धुलिपात गर्न जति प्रयास गरेपनि त्यो निरर्थक हुन्छ भनेर अहिले नै मानिसहरु आकलन गर्न लागिसकेका छन् । सबै भन्दा धेरै कन्पारा चल्ने भनेको ‘देउवा’ को हो भन्छन् मानिसहरु । तर यसपाली जति कन्पारा चलाएपनि सुण्ड मुसुण्डको यथोचित प्रयोग नगरे देउवाको कन्पारा पुरै सेलाउने छ । कन्पारा सेलाउने मित्र रामचन्द्र पोडेल, प्रकाशमान सिहं, गगन थापा, सुजता कोइराला आदि पर्दैछन् ।
नेपाली राजनीतिमा कन्पारा इतिहास लामो छैन, कन्पारा इतिहासको शुरुवात २०६२/६३ को आन्दोलन पछि शुरु भएको हो । जति बेला लाखौं नेपालीहरु सडकमा उत्रिएर “निरंकुश राजतन्त्र मुर्दावाद” भन्दै थिए कुख्यात कन्पाराहरुले ‘राजा’ नै हुत्याइदिए अब नेपाली कन्पाराहरु टाउकोमा हात लगाएर विदेशीसँग भिख र छोराछोरीसँग विदेशी पठाएर मोज गरिरहेछन् ।
केही कुख्यात, कन्पाराहरुलाई ठूला भनाउँदा दलहरुले ‘टिकट’ वितरण गरिसेकेको अवस्थामा संसद भित्र विचित्र भविस्यमा नै देख्न पाइएला ।
महिला कन्पाराहरु अलि सुस्त मनस्थितिमा छन्, र महिला अधिकार कर्मीहरु आफ्नो हक र अधिकारका लागि होइन खाली पुरुष वर्गलाई नेस्तानावद गराउने असफल प्रयासमा लागेका छन् । यिनका कन्पारा राम्ररी ठिक तरिकाले संयमित भएको भए सबै पार्टीहरुमा प्रत्यक्ष र समानुपातिक तर्फ कम्तिमा ३० प्रतिशत हकदाबी सक्थे नि ? अरु बेला पुरुषले महिलालाई थिचोमिचो ग¥यो भनेर भन्ने राजनैतिक रुपमा पुरै बलातकृत हुँदा चुइँ पनि नबोल्ने ? यो कस्तो महिला सशक्तिकरणको रुप हो ?
सबै ठूला दलहरुमा सक्षम महिला ३० प्रतिशत भन्दा माथि छन् । पुरुष नेताहरुले उनीहरुलाई पुरै दबाएर उनीहरुको कन्पारामा आफ्नो ‘स्व’ विस्तारित गरेका छन् । के नेपाली कांग्रेसमा सुजता वा डिना मात्र छन् ? जबसम्म महिलाहरुलाई पुरुष सरह राजनैतिक अधिकार दिइन्न पुरुष कन्पाराहरुको दासत्व भोगिरहने छ ।
यसो विचार गरौं त अब आउने निर्वाचनमा कस्ता कस्ता कन्पाराहरुले ‘संसद’ सजाउने हुन् ? बाहुबली कन्पाराहरु सबै गनाएका छन्, जति राम्रो र स्वच्छ थिए तिनलाई सबै ठूला पार्टीहरु कन्पारा फुटाएर कुनामा थन्काइदिएका छन् । यो भन्दा अधोगति हुने कुन अवस्था होला ? भनेर मेरो कन्पारो तातेको तातै छ।
मेरो कन्पारोले एउटा कुरा भेउ पाउन छाडिसकेको छ कि, हाम्रो देशमा कुन व्यवस्था छ ? ‘बहुदलिय व्यवस्था’ हो कि ‘गठदलिय व्यवस्था’ ‘समानुपातिक’ हो कि ‘स्वास्नीपातिक’ ‘आफन्तिपातिक’ ?