
मंगलवार , मंसिर २३, २०७७
भैरहवा, २३ मंसिर ।
कृषि बजारलाइ आधुनिकीकरण गर्ने उद्देश्यले भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पूर्वाधार विकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउँमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ ।
सोमबार एक कार्यक्रमका बीच संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै मन्त्री भुसालले तुलनात्मक रुपमा बिकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको जिकिर गरे । मुलुककै दोस्रो ठूलो नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी लगायतको कारण भैरहवाको विकास तुलनात्मक रुपमा पछि परेको उनले बताए । यस क्षेत्रको बृहत् विकासको लागि योजना बनाएर आउन उनले आग्रह गरे ।
अहिले ग्रामीण क्षेत्रको जनशक्तिले बिदेशमा श्रम खेर गरिरहेको जिकिर गर्दै उनले कृषिबाट नै विदेशमा जाने शक्ति रोक्ने प्रयास थालेको बताए । यसको परिणाम आउन कम्तिमा ३ वर्ष लाग्ने र सो अवधिसम्म धैर्य भएर बसिदिन उनले आग्रह गरे । अहिले कृषि मन्त्रालयले ५ वटा नीतिगत योजनाका साथ अगाडि बढेको भुसालले जानकारी दिए ।
कृषि उपज खरिद, यसको भण्डारण लगायतमा लगानी गरिने बताए । उनले यो बर्ष करिब २ लाख मेट्रिकटन भण्डारण गर्न सक्ने गरी तयारी गरेको बताए । उनले अहिले कृषि सामाग्रीलाई स्थानीयकरण गरिएको बताए ।
पालिकाहरुलाइ बलियो बनाएर मल वितरण, कृषि उपज संकलन लगायतको काम गर्न सक्ने गरी तयारी गरिएको बताए । २४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न विकास एण्ड ब्रदर्श आत्रेय र बस्नेत जेभी सिनामंगलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयाँमा ठेक्का पाएको छ ।
२०७९ साल असार १६ गतेसम्मको म्यादभित्र निर्माण हुने उक्त ६ तल्ले भवनमा बेसमेन्टमा चिस्यान केन्द्रदेखि आधुनिक कृषि बजार, रेस्टुरेण्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा यस भन्दा अघि नै करिब १३ करोड लागतमा कृषि बजार निर्माणाधिन छ ।
कार्यक्रममा संविधानसभा सदस्य इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य लगायतले बोल्दै कृषि बजारले कृषक र व्यवसायीलाई ठुलो टेवा दिने बताए ।
नगरपालिका उपप्रमुख उमा काफ्लेको स्वागत तथा सूचना अधिकृत देव ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij