
आइतवार , आश्विन ९, २०७९
भैरहवा, ९ असोज ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१ रुपन्देहीको चौथो वार्षिक साधारणसभा कटैयामा सम्पन्न भएको छ । साधारणसभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ९.६५ प्रतिशत संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष डिबी थापाले सदस्यहरुको हितलाई मध्यनजर गर्दै महामारी प्राकृतिक प्रकोपबाट प्रभावित सदस्यलाई सिंगल अंकको ब्याजदरमा ऋण सेवा दिइने, कर्जाको किस्ता तथा ब्याज बुझाउँदा १५ दिनको ग्रेस अवधिमा हर्जाना नलिइने, नियमित किस्ता, ब्याज बुझाउँदा दुईदेखि पाँच प्रतिशत नगद छुट दिइने लगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले १० लाख रुपैयाँसम्मको ऋण बीमाको सुविधा, मोबाइल एप, मोबाइल डिजिटल लगायतका सेवा सञ्चालनमा रहेको बताए । संस्थाले ऋण नवीकरण वा पूँजीकरण गर्ने कार्य बन्देज लगाइएको पनि थापाले जानकारी दिए ।
गत आ.व.सम्म ६ हजार ९ जना सदस्य रहेको टुगा आस्था सहकारीको आ.व. ०७८/०७९ सम्म ७ करोड ४० लाख ५२ हजार ८ सय शेयर पूँजी, ५४ करोड ४६ लाख ६९ हजार रुपैयाँ बचत, ५८ करोड ५२ लाख ८५ हजार कर्जा लगानी रहेको अध्यक्ष थापाले जानकारी दिए ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट सचिव जीतबहादुर रास्कोटीले पेश गरेको प्रतिवेदन र र लेखा सुपरीवेक्षण समितिका तर्फबाट पेश गरिएको प्रतिवेदन पनि पारित गरिएको छ ।
कार्यक्रमको उद्घाटन बचत तथा ऋण सहकारी संघ लिमिटेड नेफुस्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो अवसरमा उनले सहकारी संस्थाहरुले गरीवी निवारणका साथै गाउँगाउँमा वित्तीय साक्षरता अभियान चलाएर वित्तीय जागरण ल्याउन सफल भएको उल्लेख गर्दै राज्यले उचित मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
नेफुस्कुनका केन्द्रीय सदस्य सन्दीप सापकोटा, लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष डा.खगराज शर्मा लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन लेखा सुपरीवेक्षण विभागका सदस्य मनोज कुमार क्षेत्रीले र स्वागत मन्तव्य उपाध्यक्ष परशुराम बास्तोलाले गरेका थिए ।
साधारणसभाले लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदनसहित चार वर्षे रणनीतिक व्यवसायिक योजना, विनियम संशोधन गर्नुका साथै आन्तरिक कार्यविधि तथा निर्देशिका अनुमोदन गरेको सहकारीका मुख्य प्रबन्धक लक्ष्मण श्रीसले जानकारी दिए । सो अवसरमा उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।
दुई हजार भन्दा बढी शेयर सदस्य रहेका सहकारी संस्थाको गाउँगाउँका ईकाई बैठकहरुबाट साधारणसभामा सहभागी हुने प्रतिनिधि शेयर सदस्य चयन गरी चौथो वार्षिक साधारणसभामा सहभागी गराइएको थियो । साविकका तीन सहकारी मर्ज भइ टुगा आस्था सहकारीको नामबाट चार वर्षअघि एकीकृत कारोबार सुरु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij