२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

२१ करोड बढीको स्वीकृत कार्यक्रम सार्वजनिक

बुधवार , आश्विन ५, २०७९

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, ५ असोज ।
    रुपन्देहीमा कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि २१ करोड २ लाख २२ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भैरहवामा कार्यक्रम आयोजना गरी वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका हुन् । 

    जसमा विज्ञ केन्द्रको ११ करोड १३ लाख ८५ हजार हो भने ज्ञान केन्द्रको बजेट ९ करोड ८८ लाख ३७ हजार रहेको छ । प्रदेशले बजेट सार्वजनिक समयमै गरे पनि कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनेर स्वीकृत हुन समय लागेकाले मातहतका कार्यालयहरुले बल्ल कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

    आवश्यकता, माग, विशेष बालीवस्तु प्रवद्र्धन र प्रतिफलमा आधारित भएर बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए ।

    कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार, कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले जानकारी दिए ।

    आवश्यकताका आधारमा कार्यक्रम गर्दा अधिकतम सीमा ५० हजार राखिएको छ । पशुपन्छीतर्फ मागका आधारमा २ लाख र बालीवस्तु प्रवद्र्धनमा अधिकतम सीमा ५ लाख राखिएको छ । अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुर्याउन स्थानीय सहकारसँग समन्वय गरेर कार्य अघि बढेको अधिकारीहरुको भनाइ छ । सूचना प्रकाशन त्यसपछि आउने प्रस्तावको स्थलगत अनुगमन, छनौट र अनुदानग्राहीसँग सम्झौता गर्न अझै कम्तीमा १ महिना समय लाग्छ । मौसमी खेती गर्ने किसानलाई मध्यनजर गरेर समयमै कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईंले निर्देशन दिए ।