
सोमवार , भाद्र २७, २०७९
भैरहवा, २७ भदौ ।
उद्योग व्यापार संगठन, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई विदाई गरेको छ । उद्योग मन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई सोमबार एक कार्यक्रमकाबीच विदाई गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजित विदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले आफूले सिद्धार्थनगर नगरपालिकामा ३३ महिना २० दिन काम गरेको बताए । उनले राज्यले प्रदान गरेको जिम्मेवारी आफूले पूरा गर्दै आएको बताए । उनले भने, ‘आफू बसेको ठाउँमा राम्रो काम गरौं भन्ने सोचले काम गरेको हुँ । ’ उनले सिद्धार्थनगरबासी तथा यस क्षेत्रका उद्योगी व्यवसायीको साथ सहयोगले काम गर्न सहज भएको बताए । कोभिड–१९ को समयमा धेरै सेवा गर्ने अवसर प्रदान भएको उनको भनाइ थियो ।
संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले अभिभावकको भूमिका निर्वाह गर्नुभएको बताए । उनले भने, ‘सबैलाई समेटेर अगाडि बढनुपर्छ भन्ने उहाँको सोच छ । ’
त्यस्तै संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले पाँच वर्षको अवधिमा सिद्धार्थनगरमा धेरै विकास भएको र त्यो विकास निर्माण कार्यमा प्रमुख प्रशासकीय अधिकृत मरासिनीको महत्वपूर्ण योगदान रहेको बताए । उनले भने, ‘सिद्धार्थनगरको विकासका लागि प्रमुख प्रशासकीय अधिकृत मरासिनीको सहयोग र भूमिका कहिल्यै बिर्सनेछैनौं । ’
पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले मरासिनीको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै सिद्धार्थनगरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले नगरको विकासका लागि मरासिनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरे ।
उद्योग व्यापार संगठन रुपन्देहीका कोषाध्यक्ष राम मिलन यादवको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij