२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

‘धान चामल निर्यातमा कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णयले समस्या’

सिद्धार्थ उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र 

आइतवार , भाद्र २६, २०७९

भैरहवा, २६ भदौ । 
भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि तथा कनिकाको निर्यातमा रोक लगाएपछि उद्योगी, व्यवसायी तथा उपभोक्ता मारमा परेको भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको हो ।

भारत सरकारबाट धान, चामलमा वृद्धि गरिएको निर्यात शुल्क र कनिका तथा गहुँ निर्यातमा लगाइएको बन्देजले धान, चामल लगायतका खाद्यान्नसँग सम्बन्धित नेपाली स्वदेशी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने देखिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । उनले भने, ‘धान, चामलको मुल्यवृद्धि भइ नेपाली उपभोक्ताहरुलाई समेत असर पर्ने देखिएकोले उक्त प्रावधान फिर्ता लिन सम्बन्धित भारतीय निकायमा यथाशिघ्र आवश्यक पहल गरी स्वदेशी उद्योग तथा व्यवसायीहरुको संरक्षण गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।’

‘मुख्य कृषि बाली धानको नेपालमा हुने उत्पादन परिमाणले नेपाली जनताको आवश्यकता, चामल उद्योगको कच्चा पदार्थको लागि आवश्यक पर्ने धानको आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने र नेपालको माग पूरा नहुने कारणले नेपाली बजारमा बाध्यतावस भारतबाट  धान, चामलहरु आयात गरी उत्पादन तथा विक्री वितरण गरिरहेको यथार्थता एकातिर छ भने अर्कोतर्फ नेपालमा उत्पादन हुने धानको परिमाणले नेपाली चामल उद्योगको कच्चा पदार्थको आवश्यकतालाई परिपूर्ति गर्न नसकिरहेको अवस्थामा भारतबाट प्रत्येक वर्ष नेपालमा ठूलो परिमाणमा धान र चामल आयात हुने गरेको छ, ’ज्ञापनपत्रमा उल्लेख छ । 

त्यस्तै ‘नेपाली मदिरा तथा वियर एवं दाना उत्पादक उद्योगको कच्चा पदार्थको लागि आवश्यक पर्ने चामलको कनिका (ब्रोकन राइस) को भारतद्वारा निर्यातमा पूर्णतः बन्देज रहेको बिषयवस्तु अवगत गराउन चाहन्छौं, ’ज्ञापनपत्रमा भनिएको छ ।
नेपाल र मित्र राष्ट्र भारतबीच एक पृथक र विशिष्ट सम्बन्ध रहिआएको अवस्था एवं विगतका वर्षहरुमा सरल र सहज तवरबाट शुन्य भन्सार दरमा भारतबाट आयात हुँदै आएको धान, चामल निर्यातमा भारत सरकारले २० प्रतिशत निर्यात शुल्क लगाएको छ भने कनिकाको निर्यातमा पूर्णतः बन्देज लगाइएको संघको भनाइ छ ।

भारत सरकारले धान, चामलको निर्यातमा लगाएको निर्यात शुल्क र कनिका निर्यातमा पूर्णतः बन्देजले नेपालमा पनि धान, चामलको मूल्यमा कम्तीमा २० प्रतिशत वृद्धि हुने र खुला सीमामा भएको कारण धान, चामलको अवैध कारोबार बढ्ने र अवैध कारोबारको कारण स्वदेशी धान, चामल उद्योगहरुको उत्पादनमा असर परि अझै धरासायी बनाउने संघको भनाइ छ ।

‘यस विषम परिस्थितिमा केही भए पनि नेपाली स्वदेशी उद्योगी, व्यवसायीहरु तथा आम उपभोक्ताहरुलाई समेत राहत पुर्याउन नेपाल सरकारले भन्सार विन्दुमा लिदै आएको खाद्यान्न आयातमा लगाइएको ५ प्रतिशत अग्रिम करलाई शुन्य दर कायम गराउन सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं, ज्ञापनपत्रमा भनिएको छ ।’ 

उद्योगहरु बन्द हुँदा स्वेदशमा बेरोजगार बढ्न जाने, ऊर्जा खपतमा असर पर्ने, उद्योग र बैंकको लगानी समेत डुब्न जाने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै क्षेत्रमा प्रतिकुल असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसले उद्योगी व्यवसायीसँगै आम उपभोक्ता मारमा पर्ने संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो ।