२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रामग्रामको तयारी

बिहिवार , भाद्र २३, २०७९

परासी, २३ भदौ । 
नवलपरासीको रामग्राम नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन नगरको जेष्ठ नागरिकहरु बिहानैदेखि बैंकको लाइनमा बस्नुपर्ने र दुःख पाउने समस्या हुँदै आएको थियो । भत्ता वितरणको समय आएपछि हुँदैको अगाडी जेष्ठ नागरिकहरुको लामो लाइन लाग्ने तर बैंकको जनशक्ति अभावले थोरैले मात्र भत्ता पाउने अरु भोलि आउने भन्दै फर्किनुपर्ने बाध्यता रहदै आएको थियो ।  

बैंकको अगाडी वृद्धहरुको लाइन र घामपानीको समस्या झेल्दै आएको जेष्ठ नागरिकहरुलाई वडा/वडाबाटै भत्ता वितरण गर्न नगरपालिकाले वडाहरुमै बैंक काउण्टर लगेर वितरण गर्ने तयारीमा जुटेको नगरप्रमुख धनपत यादवले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । बुधबार पत्रकार सम्मेलनमार्फत आफनो सय दिनको कार्यसम्पादन सार्वजनिक गर्दै नगरप्रमुख यादवले वडाबाट भत्ता वितरणका लागि मेगा बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेड परासी शाखाहरुसँग सम्झौता भइसकेको बताए ।  

समाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, अपांग, दलित, लोपोन्मुख, अल्पसंख्यक, एकल महिलाहरुको विभिन्न बैंकहरुमा खाता खोली बैंकमार्फत भुक्तानी हुँदै आएकोमा उनीहरु निकै सास्ती व्यहोर्दै आएकाले यो व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिए ।

नगरपालिकाले समाजिक सुरक्षावापतको रकम प्रत्येक त्रैमासिक ४ करोड ६१ लाख ३८ हजार ४ सय ५६ रुपैयाँको हिसाबले रकम बैंकहरुलाई छोड्ने गर्दा वार्षिक १८ करोड ४५ लाख ५३ हजार ८ सय २४ रुपैयाँ भत्ता वितरण गर्दै आएको छ ।  

सामाजिक सुरक्षा भत्ता रकम वितरणका लागि मेगा बैंक परासी शाखालाई वडा नम्बर ५, ६, १०, ११, १४, १५, ज्योती विकास बैंकलाई १, २, ४, ७, १२, १६, १८ र सनराईज बैंक लिमिटेडलाई वडा नम्बर ३, ८, १३ र १७ को वितरण गर्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

विगतमा ११ वटा विकास तथा बाणिज्य बैंकहरुमार्फत समाजिक सुरक्षा वितरण हँुदै आएको थियो । रामग्राम नगरपालिकामा १८ वडा रहेका छन् ।