२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एग्रिकल्चर कम्पनीबाट गुल्मीका कृषक ठगिए

मंगलवार , मंसिर १६, २०७७

मनोज कार्की

गुल्मी, १६ मंसिर ।
गुल्मीका कृषक एक एग्रिकल्चर कम्पनीद्वारा ठगिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँका कृषकलाई केराखेतीबाट मनग्य आम्दानी हुने भन्दै जय बागेश्वरी एग्रिकल्चर प्रा.लि. नेपालगंजले ठगेको पाइएको हो । 

माटो परीक्षण बिना नै गाउँ गाउँमा पसेर गत वर्ष भदौ १ गाउँका कृषकहरुलाई विरुवा वितरण गरेको थियो । समुन्द्री सतहदेखि १५ सय मिटर माथि केराखेती राम्रो हुने र १२ देखि १५ महिनामा केराले राम्रो आम्दानी हुने प्रलोभन देखाएर विरुवा विक्री गरेको स्थानियले बताएका छन् । 

१६ महिना बित्दा समेत दिएन केराले उत्पादन

कृषकले लगाएकोे केराखेती १६ महिना बितिसक्दा आन्दानी त परैको कुरा हो रोपेको केरा पसाउने, दाना लाउने छाटकाँट नै देखिएको छैन । केराबाट मनग्य आम्दानी गर्ने सपना बोकेका गुल्मी भाडगाउँका कृषकको सपना सपना मै सिमित भएको कृषक होम बहादुर कुंवरले बताए । आफ्नै कम्पनीले नेपालगंजबाट विरुवा उत्पादन गर्ने, प्राविधिक सहयोग गर्ने, गाउँमै विरुवा उपलब्ध गराउने लगायतका आसपाशन दिएको थियो । 

कृषकले केराखेतीको विषयमा बुझ्न खोज्दा फोन समेत उठाउँदैनन् उठाए पनि श्रीमतीले को हो हजुर ? किन फोन गरेको ? म त चिन्दिन ?  भन्ने महिलाको जवाफ आउँछ । कम्पनीले पुस महिनामा जेटिए कर्मचारी केराखेतीको फिल्डमा पठाएको थियो । विस्तारै उत्पादन नभएपछि कम्पनी नै सम्पर्कबिहीन भएको वडा सदस्य निर्मला कुंवरले जानकारी दिइन् । 

सदस्य निर्मला कुवँरले २ रोपनीमा १ सय ५० बिरुवा र ज्ञान बहादुर कुवंरले ३ रोपनी जग्गामा २ सय ४० विरुवा रोपेका थिए । प्रतिविरुवा १ सय ७० का दरले खरीद गरेका थिए । जय बागेश्वरी एग्रिकल्चर प्रा.लि. नेपालगंजलाई फोन गरी बुझ्न खोज्दा कर्मचारीले प्रमुखको नम्बरको दिएर तर्किन खोजेको पाइएको छ । 

वडा कार्यालयसंग कुनै समन्वय नगरी कृषकसंग कम्पनी पुगेर विरुवा वितरण गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थम्मन बहादुर केसीले बताए । तत्काल कम्पनीलाई सम्पर्कमा ल्याई आवश्यक कारवाही गर्ने वडा अध्यक्ष केसीले बताए ।