
आइतवार , भाद्र ५, २०७९
तिलोत्तमा, ५ भदौ ।
अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाज बुटवल रुपन्देहीले शनिबार तीजमिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएका कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले गरेकी थिइन् ।
त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले चेलीबेटीहरुको बेदना पोख्ने गरी पहिले गाइने गीतहरु समयक्रम अनुसार परिवर्तन हुँदै गएको भन्दै तीज गीतका माध्यमबाट महिलाहरुले अधिकारको खोजी गर्न थालेको बताइन् । महिला हिंसाको अन्त्य, उनीहरुको सशक्तिकरण, महिला अधिकार र समाज रुपान्तरणमा तीज पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै उनले फलस्वरुप नेपालको संविधान २०७२ ले महिला हक अधिकारलाई संस्थागत गरेको बताइन् । उपप्रमुख अर्यालले स्थानीय सरकारको जनप्रतिनिधिको हैसियतले महिलाहरुका समस्या समाधानका लागि आफू प्रतिवद्ध भएर लाग्ने भन्दै विकासको अभियानमा एकताबद्ध भएर लाग्न र रचनात्मक काममा सहयोग गर्न आग्रह गरिन् ।
समाजका अध्यक्ष केशवराज पन्थीले तीजको मौलिक संस्कृतिको संरक्षण र यसको परम्परालाई बचाइराख्नका लागि पनि समाजले हरेक वर्ष तीजमिलन कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा सहभागी महिलाहरुले दिनभर नाचगान गरी मनोरन्जन लिएका थिए । समाजले यसअघि विभिन्न रचनात्मक कामहरु पनि गर्दै आएको छ । समाजले बिरामीको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले एम्बुलेन्स समेत सञ्चालनमा ल्याइसकेको छ भने विभिन्न समयमा रक्तदान कार्यक्रम समेत गर्दै आएको समाजका सचिव जीवनाथ अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij