शुक्रवार , भाद्र ३, २०७९
भैरहवा, ३ भदौ । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले तीजमा भएका विकृत मान्यताहरुबाट छोरीचेलीलाई जोगाउनुपर्ने बताएकी छन् । उनले महिनावारी भएका कारण अपवित्र हुने र केही दत्तिवल चपाएपछि मात्र महिला पवित्र हुने तिज संस्कृ िभित्र रहेको विकृत मान्यताबाट छोरीचेलीलाई जोगाउनुपर्ने बताइन् ।
लायन्स क्लब अफ भैरहवा डायनामिक टिचर्सले भैरहवामा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै अधिकारीले तीजको केहीदिन पछि मनाइने पञ्चमी प्रति नेपाली समाजमा रहिआएको मान्यताप्रति विरोध जनाउदै भनिन्, ‘हामी चोखो छौ हामीलाई चोख्याउन पर्दैन ।’
उनले भनिन्, ‘दत्तिवल चपाउनु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिन्छ, तर त्यसलाई भ्रमपूर्ण तरिकाले तर्क गर्नुभन्दा स्वास्थ्यको दृष्टिकोणले परम्परा चलिआएको भन्ने मान्यता राख्नुपर्छ ।’
महिनावारी भएका कारण अपवित्र हुने र केही दत्तिवल चपाएपछि मात्र महिला पवित्र हुने मान्यताको अन्त्य हुनुपर्ने तर्क अधिकारीले व्यक्त गरिन् । नारीले नै अपवित्र भए, त्यही नारीको गर्भबाट जन्मने के हुन्छन् त भन्ने प्रश्न समेत अधिकारीले उठाइन् । उपप्रमुख अधिकारीले संस्कृतिको नाममा रहेका विकृतिहरुलाई छोरी चेलीहरुबाट टाढा राख्न मुख्य भूमिका शिक्षिकाहरुले खेल्नुपर्ने बताइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij