२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

एलआइसी नेपालद्वारा अभिकर्ता उत्प्रेरणा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बुधवार , भाद्र १, २०७९

भैरहवा, १ भदौ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी)ले अभिकर्ता उत्प्रेरणा तथा पुर्नताजगी कार्यक्रम तिलोत्तमाको कोटिहवामा सम्पन्न गरेको छ । एलआइसीले २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको हो । जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर दीपक कुमार पासीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले अभिकर्ताहरुले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन अधिकतम प्रयास गर्नुपर्ने बताए । उनले अभिकर्ता कम्पनीको खम्बाको रुपमा रहेको बताए । अभिकर्तालाई समयसमयमा अभिप्रेरणा र उत्प्रेरणा तथा कार्यदक्षता कायम राख्न स्व–अध्ययन र विशेष तयारीका साथ आफूमातहतका अभिकर्ताहरुलाई नियमित रुपमा तालिम तथा उत्प्रेरणा दिन उनले आग्रह गरे ।
बीमा क्षेत्रमा आफ्नो ३० वर्षको अनुभव, आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका बीमा बिज्ञ तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले क्षमता वृद्धि तथा बजार ब्यवस्थापनसम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए । 

प्रमुख प्रशिक्षक वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारिले जीवन बीमा अभिकर्ताहरुलाई लक्षित गरी एकदिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बीमा सम्बन्धि तालिम” अभिकर्तालाई क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण प्रदान गर्दै जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मिहिनेतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व अभिकर्ता माथि रहेको बताए । 

अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक नर बहादुर घर्तीले कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने अध्यक्ष क्लब छनौट गर्ने एमडीआरटी टीम प्रथम प्रिमियम पोलिसी विधाको लक्ष्य पूरा गर्ने गोबिन्द प्रसाद गिरी र दिपक कुमार पासीको टीममा रहेका अभिकर्ताहरु र विभिन्न विधामा उत्कृष्ट रहेका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले प्रशंसापत्रले सम्मान गरेका थिए ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यवसायिक र मर्यादित बनाउने अभियान अन्तर्गत अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामनासहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कुनै पनि व्यवसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता महत्वपुर्ण मन्त्र रहेको एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीले बताए ।
कार्यक्रममा बुटवल शाखाका शाखा प्रबन्धक कृष्णदत्त भट्टले शाखालाई मिलाएर लैजाने बुटवल यस क्षेत्रबाट व्यवसायमा कम्पनीको ठुलो आशा भरोसा रहेको भन्दै सबै मिलेर लक्ष्य पूरा गर्ने अठोट व्यक्त गरेका थिए । 

कम्पनीका एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको अध्यक्षता तथा अभिकर्ता लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा भैरहवा शाखा प्रमुख सुदिप ज्ञवाली, बर्दघाट शाखा प्रमुख बालकृष्ण चौधरी, चन्द्रौटा शाखाका प्रेम बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।