२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जनताले एमालेको पक्षमा मतदान गर्नेछन् : सूर्य थापा

शनिवार , श्रावण २८, २०७९

बुटवल, २८ साउन । 
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले सिद्वान्त र विचार मानवीय जीवनसँग मेल खाने गरी व्यवहारमा उतार्नुपर्ने बताएका छन् । एमाले प्यूठान रुपन्देही सम्पर्क कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘हिजो माक्र्सका, माओका किताब बोकेर हिड्दैमा, लामा लामा सिद्वान्तका भाषण गर्दैमा कम्युनिष्ट भइन्थ्यो । अब त्यसरी हुँदैन सिद्वान्त र विचारलाई, पुस्तकमा उल्लेख भएका विषयवस्तुलाई हरेक मानिसको जीवनमा लागू गराउनुपर्दछ । व्यवहारिक गराउनुपर्छ । ’

थापाले आगामी निर्वाचनमा एमालेले कसैलाई पनि कांधमा बोकेर नहिड्ने समेत बताए । उनले भने, ‘हामी कसैलाई पिठ्युमा बोकेर, कांध हालेर हिड्दैनौ । एकल रुपमा जनता समक्ष जानेछौ । ’ 

थापाले एमालेले भदौ २० गतेसम्म उम्मेदवारको नामावली टुंग्याउने बताउँदै पार्टीले जसलाई उम्मेदवार बनाए पनि सूर्य चिन्ह बाहकले जित्ने दावी गरे । उनले भने, ‘चुनावमा उम्मेदवार हुने व्यक्ति गौण हो, पार्टी र चुनाव चिन्ह प्रमुख हो । हामी जो जहाँ छौं एमालेका उम्मेदवारलाई जिताउन लाग्नेछौ । ’ 

नेता थापाले प्यूठान जिल्लाको समग्र विकासको लागि प्यूठानमा जन्मिएका, नाता सम्बन्ध भएका सबै जना जो जहाँ भए पनि एकजुट भइ प्यूठानको हितमा लाग्नुपर्ने बताए । उनले भने, ‘यतिबेला मलाई पार्टीले प्यूठान जिल्लाको इञ्चार्च बनाएर काममा खटाएको छ । यसैले प्यूठानको समग्र विकासको लागि नेपालभरी विभिन्न कामको सिलसिलामा रहेका, बसाईसराई गरी गएका, अध्ययनको लागि, जागिरको लागि बसेका सबैसँग छलफल गरी सम्पर्क बढाउने काम भएको छ । एउटा प्यूठानीको अर्काे प्यूठानीसँगको सम्बन्ध प्रगाढ होस्, एकले अर्काेलाई सहयोग गर्ने वातावरण बनोस् भनेर यस्तो गरिएको हो ।’

एमालेका युवा नेता थापाले आसन्न निर्वाचनमा जनताले एमालेको पक्षमा मतदान गर्ने पनि बताए । उनले भने, ‘संविधानतः हरेक ५/५ वर्षमा हुने निर्वाचनको क्रममा आसन्न संसदीय निर्वाचनमा जनताले एमाले उम्मेदवारलाई जिताउने हामीले विश्वास लिएका छौ । यो अभियानमा हरेक प्यूठानी आफै प्यूठान पुगेर हुन्छ कि फोन, म्यासेजमार्फत हुन्छ प्यूठानमा पनि सूर्य चिन्हमा मतदान गर्न गराउन लागि पर्नुपर्छ ।’

प्यूठानीहरु बुटवल, काठमाडौं हरेक ठाउँमा आफ्नो हिसाबले राम्रो गरिरहेको बताउँदै अब राजनीतिक हिसाबले पनि राम्रो गर्ने बेला आएको थापाको भनाइ छ । 

कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्यले प्यूठानीहरु एक भएर अगाडि बढेमा समग्र प्यूठानको लागि बुटवलबाट राम्रो सहयोग र सन्देश प्रवाह गर्न सक्ने बताए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसिले जन्मथलोको विकासको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैको एकता अपरिहार्य रहेको बताइन् । 
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव भरत केसी, प्यूठान रुपन्देही सम्पर्क कमिटि अध्यक्ष विनोद गिरी, पत्रकार गंगा खड्का, राष्ट्रिय कलाकार पुर्खे बा लगायतले आसन्न निर्वाचनको लागि मात्रै नभएर सदियौंसम्म प्यूठान रुपन्देही सम्पर्क कमिटीले प्यूठानी जनताको हितमा काम गर्ने बताए ।

शान्त रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारी, प्यूठान कपिलवस्तु सम्पर्क कमिटीका अध्यक्ष मोहन बहादुर के.सी. लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्यूठानमा जन्मिएका तथा नाता सम्बन्ध भएका प्यूठानीहरुबीच भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।